विमान दुर्घटनामा मृत्यु हुनेहरूको सम्झनामा दीप प्रज्वलन



काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाको आत्मशान्ति कामना गर्दै देशका विभिन्न ठाउँमा दीप प्रज्वलन गरिएको छ। काठमाडौंका विभिन्न संघसंस्थाले माइतीघर, सुन्धारा, वसन्तपुरलगायत ठाउँमा दीप प्रज्वलन गरेका छन्। सरकारले दुर्घटनामा ज्यान गुमाउनेको शोकमा आज सार्वजनिक बिदा दिएपछि देशका विभिन्न स्थानमा मृतकको आत्मा शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो।

भक्तपुरमा पाँचतले न्यातपोल मन्दिर अगाडी दीप प्रज्वलन गरिएको छ। न्यातपोल मन्दिर अगाडिको टौमढीमा दीप प्रज्वलन गरिएको हो। स्थानीय समाजसेवी सूर्य श्रेष्ठको आह्वानमा दीप प्रज्वलन गरिएको हो । साँझ साढे ६ बजेदेखि गरिएको दीप प्रज्वलनमा भक्तपुर नगरबासी सहभागी भएका थिए।

सुर्खेतमा नेपाल ज्योतिष परिषद सुर्खेत शाखाले एक हजार आठ बत्ति बालेको छ। परिषदका सचिव खगेन्द्रप्रसाद अधिकारीका अनुसार १ सय ८ दियोमा १ हजार ८ बत्ति बालिएको हो।

महोत्तरीको विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ। सोमबार साँझ गौशाला, वर्दिवास र औरहीमा दीप प्रज्वलन गरी मृतकको स्मरणमा एक मिनेट मौन धारण गरिएको थियो। गौशालामा नेपाली कांग्रेस महोतरीले आयोजना गरिएको श्रद्धान्जलीसभामा पूर्वसांसद सीताराम भण्डारीको संयोजकत्वमा स्थानीय गणेश मन्दिरमा मैनबत्ती प्रज्वलन गरी एक मिनेट मौनधारणसहित श्रद्धाञ्जली अर्पण गरिएको हो। दुर्घटनामा ज्यान गुमाएकाको नाममा बत्ति बाल्दा मृतकका आत्माले शान्ति पाउने धार्मिक विस्वास छ।

प्रतिक्रिया दिनुहोस्