पोखरा विमान दुर्घटना : ४७ शव आज काठमाडौं ल्याइँदै



काठमाडौं । आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये जनाको ४७ शव मङ्गलबार काठमाडौं आइपुग्नेछन्। यसका लागि नेपाली सेनाको हेलिकोप्टर त्यहाँ पुगिसकेको छ। सेनाका प्रवक्ता नारायण सिलवालले सोमबार नै हेलिकोप्टर त्यसतर्फ गएको बताए।

उनले सेनाले रेडियो कोलिसन सेन्टरलाई सहजीकरण गर्नका लागि हेलिकोप्टर पठाएको जानकारी दिए। सेन्टरमा फोकल पर्सन प्रेमनाथ ठाकुरले दिएको जानकारी सोमबारसम्म भेटिएका शवमध्ये सनाखत भइसकेका २३ शव पोखरामा नै परिवारलाई जिम्मा लगाइएको छ।

शव परीक्षणका लागि पोखराबाट काठमाडौं शव ल्याउँदा समय लाग्ने भएकाले शिक्षण अस्पतालका २ फरेन्सिक विशेषज्ञलाई पोखरामा नै पठाइएको ठाकुरले बताए। दुर्घटनापछि भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर फेला परिसकेको र छानबिन कमिटीलाई उपलब्ध गराउने उनले बताए। उनले सोमबार पनि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी लगायतका उद्धारकर्ता खटिएको जानकारी दिए।

दुर्घटनापछि हालसम्म फेला परेका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखी आवश्यक परीक्षण भइरहेको छ। यसैगरी, विमान दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न सोमबार माइतीघरमा दीप प्रज्ज्वलन गरिएको छ। विभिन्न समूहमार्फत युवाहरूले माइतीघरमा भेला भएर दीप प्रज्ज्वलन गरेका हुन्। उनीहरूले विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिएकामा असन्तुष्टि जनाएका थिए। उनीहरूले बोकेको प्लेकार्डमा सार्वजनिक बिदा दिनुभन्दा थोत्रा जहाजहरू हटाउनुपर्ने सन्देश लेखिएको थियो ।

एटीआर जहाजको प्राविधिक परीक्षण

आइतबार भएको दुर्घटनालगत्तै नेपालमा उड्ने सबै एटीआर जहाजको विस्तृत प्राविधिक परीक्षण गरिएको छ। नेपाल नागरिक उड्डययन प्राधिकरणका अनुसार परीक्षणबाट कुनै पनि वायुयानमा त्रुटि फेला परेको छैन। प्राधिकरणले दिएको जानकारीअनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको आइतबारको दुर्घटनालगत्तै प्राधिकरणका उडान सुरक्षा निरीक्षकहरूले नेपालमा सञ्चालित सबै एटीआर–४२ र एटीआर–७२ जहाजको विस्तृत प्राविधिक परीक्षण गरिएको छ।

नेपालका सबै वायुसेवा कम्पनीबाट नियमित उडान योग्यताका लागि चाहिने दैनिक परीक्षण, उडानपूर्व गरिने परीक्षण, निश्चित अन्तरालमा गरिने परीक्षण जस्ता कामहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्ड तथा सिफारिस र वायुयान निर्माता कम्पनीको मापदण्ड अनुसार हुने गरेको समेत निरौलाले जनाएका छन् । दुर्घटनालगत्तै बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सबै जहाजको परीक्षण गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

क्षति मूल्याङ्कन गर्ने टोली नेपालमा

विमान दुर्घटनाको क्षति मूल्याङ्कन गर्न बीमा सर्भेयर र कानुन व्यवसायीहरूको टोली नेपाल आइपुगेको छ। क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्नका लागि सर्भेयर टोली सिंगापुर र कानुनी व्यवसायीको टोली भारतबाट सोमबार काठमाडौं आइपुगेको नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए। बीमा दलाल (ब्रोकर) का रूपमा रहेको बेलायतको कम्पनीले सिंगापुरबाट सर्भेयर खटाएको उनको भनाइ छ।

दुर्घटनामा परेका यात्रुको बीमा दाबी भुक्तानीका लागि कुनै समस्या नहुने पनि पौडेलले जानकारी दिए। ‘बीमा गरेको कम्पनीले पनि अर्को कम्पनीमा पुनर्बीमा गरेको हुन्छ। पुनर्बीमाबाट पैसा आएपछि बीमा कम्पनीबाट भुक्तानी भइहाल्छ । मृतकको पोस्टमार्टम रिपोर्टका आधारमा बीमा रकम भुक्तानी हुन्छ’, उनले भने ।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हवाई दुर्घटनामा परेका यात्रुका परिवारलाई बीमा भुक्तानीका सहजीकरण गर्न निर्देशन दिएको पनि प्रवक्ता पौडेलले जानकारी दिए । बीमा दाबी भुक्तानीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि चासो राखेको उनको भनाइ छ।

‘राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले बीमा भुक्तानीबारे चासो राखेको थियो। बीमा रकम भुक्तानीका लागि पोस्टमार्टम रिपोर्ट चाहिने भएकाले पोखरा र काठमाडौंबाट रिपोर्ट लिन सकिने भनिएको छ। दाबी भुक्तानीमा समस्या नहुने जानकारी हामीले समितिलाई गराएका छौँ’, प्रवक्ता पौडेलले भने।

प्रतिक्रिया दिनुहोस्