विवादमा नेपाली सुटिङ



काठमाडौं । काठमाडौंमा भएको १३औँ दक्षिण एसियाली खेलकुदमा नेपालले तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेको थियो। त्यो समयमा पनि सुटिङ खेलले भने एउटा पनि पदक जित्न सकेन। यो नै नेपाली सुटिङको ओरालो गतिलाई पुष्टि गर्न पर्याप्त घटना हो।

त्यसपछिका ३ वर्षमा खासै कुनै काम गर्न नसकेको सुटिङ सङ्घ पछिल्लो समय भने विवादमा मुछिएको छ। यस खेलका प्रशिक्षक, अधिकारी तथा खेलाडी नै सङ्घ नेतृत्वको विरुद्धमा उत्रिन थालेका छन्। पछिल्ला केही दिनयता यस खेलमा आबद्धहरूले सङ्घको विरुद्धमा आवाज उठाउने लहर नै चलेको छ।

ती प्रशिक्षक तथा खेलाडीको आक्रोश अध्यक्ष पुष्पदास श्रेष्ठलगायतको एउटा समूहले सबैलाई बन्दी बनाएको आरोपमा छ। यसरी सङ्घको गतिविधिमा असन्तुष्टि व्यक्त गर्नेमा सुटिङका अन्तर्राष्ट्रिय खेलाडी सूदन खड्कालगायत छन्। आफ्नो मान्छेलाई छानेर पठाउने तथा अन्यलाई अत्तोपत्तो नदिइएको गुनासो सूदनको छ। नेतृत्वले आर्थिक अनियमितता गरेको आरोपसमेत सूदनले लगाएका छन् । त्यसो त गुटबन्दी गरेर संस्थागत स्वरूपलाई फैलन नदिएको आरोप धेरै सुटिङ खेलाडीको छ।

सप्तरी जिल्ला सुटिङ सङ्घकी अध्यक्ष शशिकला मानन्धरको आक्रोश त अझ बढी छ । मनपरी गर्ने, सामान थन्क्याउने, प्रशिक्षण नगराउने तथा खेलमा काठमाडौंमा रहेका केहीको मनोमानी रहेको उनी बताउँछिन् । कतिसम्म भएको थियो भने नवौँ राष्ट्रिय खेलकुदको समयमा प्रशिक्षकसमेत रहेकी शशिकलाले घरमै बोलाएर खेलाडीलाई प्रशिक्षण गराएकी थिइन् । त्यसपछि प्रदेश तहमा सुटिङको खेल भएन भने राष्ट्रिय तहमा पनि उनीहरूलाई खेल्न दिइएन ।

समस्या यतिमै सीमित रहेन, खेलाडीको सुविधामा पनि सङ्घ नेतृत्वले हिनामिना गरेको आशङ्का पनि धेरै जिल्लाका अधिकारी तथा खेलाडीलाई छ। नेपाली सुटिङको आलोचना यतिमा सीमित छैन। गत दक्षिण एसियाली खेलकुदमा सामान नभएका कारण नेपाली सुटरले पाकिस्तानी खेलाडीसँग सामान मागेर खेलेको समाचार त्यस समयमा पनि चर्चाको विषय बनेको थियो।

राष्ट्रिय खेलकुदको समयमा खेलाडीलाई सुटिङ पोसाकका लागि भनेर ८ हजार रूपैयाँ पठाइएको र त्यो रकम पारदर्शी नभएको गुनासोसमेत शशिकलाको छ। सङ्घभित्र थुप्रै विवाद देखिएको छ। सङ्घका महासचिव त्रिलोचन श्रेष्ठले नवौँ राष्ट्रिय खेलकुदको समयमा सङ्घमा असन्तुष्टि रहेको भन्दै राजीनामा दिएका छन्।

त्यस राजीनामाबारे समेत कुनै टुङ्गो लागेको छैन । उनले पनि निश्चित केही व्यक्तिको इसारामा सङ्घ चलेको आरोप लगाएका छन् । उनको राजीनामा पनि स्वीकृत भएको छैन। नयाँ सुटिङ रेन्ज तयार भएको १ वर्षभन्दा बढी समय भए पनि प्रशिक्षण सुचारु हुन नसकेपछि यसले सुटिङ खेलमा आक्रोश थपेको छ ।

प्रतिक्रिया दिनुहोस्