यस्तो बन्यो प्रचण्ड क्याबिनेट



काठमाडौं । प्रारम्भिक मन्त्रिपरिषद् बनेको ३ सातापछि बल्ल त्यसले पूर्णता पाएको छ । ११ पुसमा ३ जना उपप्रधानमन्त्री र ४ जना बिनाविभागीय मन्त्रीसहित पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको शपथ लिएका थिए । त्यसबेला प्रचण्डले एमालेबाट ४, माओवादीबाट १, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १ र जनमत पार्टीबाट १ जनालाई समेटेर ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

त्यसै दिन गठन भएको मन्त्रिपरिषद् ३ सातासम्म अपुरो अवस्थामै थियो । लामो समयसम्म चलेको छलफल र भागबन्डामा देखिएको सकस अन्ततः समाप्त भएको छ । सोमबार प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीबीच ५ घन्टासम्म चलेको छलफल र त्यसपछि ४ घन्टा लामो बालुवाटार वार्तापछि मन्त्रिपरिषद्लाई अन्तिम रूप दिइएको हो । एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डको छलफलपछि अन्तिम निर्णय लिन भन्दै ओली नै संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । संयन्त्रको बैठकले नै मन्त्रालयको भागबन्डा टुङ्गो लगाएको थियो ।

अहिलेको अवस्थामा मन्त्रिपरिषद्मा ५ दलको मात्र सहभागिता छ । सुरुमा सरकार गठन हुने बेलामा बनेको गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग सम्बोधन नभएसम्म समर्थन मात्र जनाउने तर सरकारमा नजाने निर्णय लिएको छ । जनता समाजवादीले पनि सरकारमा नजाने निर्णय गरेको छ । तर, जसपालाई सरकारमा ल्याउन गठबन्धनबाट प्रयास जारी रहेको एक नेताले बताए । वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय प्रधानमन्त्री आफैँले राखेकाले पनि सम्भावना खुला रहेको बुझिन्छ ।

गठबन्धनले नेकपा एकीकृत समाजवादीका लागि पनि बाटो खुला राखेको छ । नेकपा एस सरकारमा जान तयार भएको अवस्थामा उचित मन्त्रालय दिने तयारी गठबन्धनबाट भएको छ ।

सरकारमा ५ दलका २३ मन्त्री

मङ्गलबार भएको शपथसँगै अब मन्त्रिपरिषद्मा २३ सदस्य भएका छन् । यसअघि मन्त्रिपरिषद्मा ८ जना मात्र सदस्य थिए । अब सरकारमा माओवादीका ६, एमालेका ८, राप्रपा र रास्वपाका ४/४ तथा जनमतका १ जना मन्त्री छन् । सरकारको नेतृत्व माओवादीले गरे पनि सत्ता गठबन्धनको सूत्रधार, नेतृत्वकर्ता र सबैभन्दा ठुलो दल एमालेले ८ वटा मन्त्रालय पाएको छ । विष्णु पौडेल अर्थसहित उपप्रधानमन्त्री बन्दा पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भएका छन् भने डा. विमला राई पौड्यालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । त्यस्तै, हरि उप्रेतीले रक्षा, ज्वालाकुमारी साहले कृषि, भगवती चौधरीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक, दामोदर भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति र राजेन्द्र राईले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मा पाएका छन् ।

सरकारको नेतृत्व गरेको माओवादीले भने प्रधानमन्त्रीसहित ३ वटा मन्त्रालय पाएको छ । प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ११ पुसमै आफ्नो कार्यभार सम्हालेका थिए । त्यस्तै, मङ्गलबारको शपथसँगैै माओवादीकी रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेकी छिन् भने सूदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका छन् । अमनलाल मोदीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी पाउँदा सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री भएकी छिन् ।

रास्वपाबाट सरकारमा ५ जनाको उपस्थिति छ । १ उपप्रधानमन्त्री, ३ मन्त्री र १ राज्यमन्त्री रास्वपाको भागमा परेको थियो । पार्टी सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रीको रूपमा ११ पुसमै सरकारमा सहभागी भएका थिए । त्यस्तै, शिशिर खनालले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पाएका छन् भने डोलप्रसाद (डीपी) अर्याल श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री बनेका छन् । डा. तोसिमा कार्कीले भने स्वास्थ्य राज्यमन्त्रीको जिम्मा पाएकी छिन् ।

सरकारमा सहभागी भएको अर्को दल राप्रपाले पनि उपप्रधानसहित ४ मन्त्री र १ राज्यमन्त्री पाएको छ । जसमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन् भने विक्रम पाण्डेले शहरी विकास मन्त्रीको जिम्मेवारी पाएका छन् । ध्रुवबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बन्दा दीपकबहादुर सिंह भने ऊर्जा राज्यमन्त्री बनेका छन् ।

त्यस्तै, १ मन्त्रीसहित सरकारमा गएको जनमत पार्टीको तर्फबाट सरकारमा अब्दुल खानको उपस्थिति छ । उनले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री बनेकामध्ये प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्रीद्वय विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ तथा विक्रम पाण्डे, रेखा शर्मा र ज्वालाकुमारी साहबाहेक सबै अनुहार नयाँ हुन् ।

प्रतिक्रिया दिनुहोस्