अर्याल मन्त्री भएपछि सृष्टि ओभरसिजले किन बन्द गर्‍यो वेबसाइट ?



काठमाडौँ । सृष्टि ओभरसिज कम्पनीको अन्तर्राष्ट्रिय बजार निर्देशक डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री भए लगतै कम्पनीले वेबसाइट  नखुल्ने बनाएको छ।

म्यानपावर व्यवसायमा संलग्न रहेका अर्याललाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै चौतर्फी आलोचना भएपछि उक्त कम्पनीले वेबसाइट नै नखुल्ने बनाएको हो।

कम्पनीको वेबसाइट नखुल्ने बनाए पनि फेसबुक पेजको कभर फोटोमा भने अर्यालको फोटो अझै पनि भेटिन्छ। अर्याल स्वयंमले म्यानपावर क्षेत्रमा आफ्नो संलग्नता स्वीकार गरेका छन्।

आफू सन् २००३ देखि नै म म्यानपावर क्षेत्रमा संलग्न रहेको उनले बताएका छन् । उनले नेपालीहरूका लागि जापानमा रोजगारसम्बन्धी निर्देशिका बनाउन सहयोग गरेको दाबी पनि गरेका छन् । राजनीतिमा आउनु अघिसम्म म्यानपावरहरूमा कन्सल्टिङ सेवा दिइरहेको उनले बताए । सल्लाह सुझाव दिनका लागि आफू जाँदा साथीहरूले फोटो खिचेर राखेको पनि उनले बताए ।

अर्याल १५ वर्षभन्दा बढी जापान बसेका हुन्। उनले पुतलीसडकमा जापानी भाषा पढाउने संस्था पनि खोलेका थिए। अर्यालले धेरै मानिसलाई रोजगारीका लागि जापानसमेत पठाएका छन्।

यद्यपी मन्त्री अर्यालले भने म्यानपावरमा श्रीमती र आफ्नो पनि लगानीनै नरहेको दाबी गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी अभियानका क्रममा ‘जान्नेलाई छान्ने’ नारा बनाएको थियो। पार्टीले विज्ञताका आधारमा मन्त्री छान्ने निर्णय गरेकाले अर्याललाई श्रम मन्त्रालयको जिम्मेवारी दिइएको रास्वपाले जनाएको छ ।

पार्टीले विज्ञताका आधारमा मन्त्री छान्ने निर्णय गरेको गरे अनुसार उनलाई श्रम तथा रोजागार क्षेत्रमा उनका काम र क्रियाशीलता हेरेरै उनलाई मन्त्री बनाइएको रास्वपाले जनाएको छ । मन्त्री अर्यालले पनि श्रम तथा रोजगार क्षेत्रमा आफ्नो विज्ञता रहेको दाबी गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र आफूबीच पहिलेदेखि नै मित्रता रहेको अर्यालले बताएका छन्।

५ वर्षअघि रवि एक कार्यक्रममा जापान जाँदा उनीहरूबीचको सम्बन्ध थप घनिष्ठ बन्न पुग्यो। त्यसपछि अर्यालले लामिछानेलाई आफ्नो रेमिट्यान्स कम्पनी इजी लिंकको ब्रान्ड एम्बेस्डर बनाए। रास्वपा गठनमा उनी लामिछानेसँगै सक्रिय बने।

अरू विभिन्न व्यवसायमा पनि संलग्न अर्याल रास्वपाको समानुपातिकको सूचीबाट सांसद हुँदै मन्त्री बन्नसमेत सफल भए।

उनले रास्वापा गठनमा आफ्नो महत्वपूर्ण भूमिका रहेको भन्दै विज्ञता योगदानको हिसावले आफूले अवसर पाएको उनको दाबी छ ।

रास्वपा सभापति समेत रहेका गृहमन्त्री लामिछाने र अर्याल विवादमा तानिनुको कारण हो, स्वार्थ द्वन्द्व। दोहोरो नागरिकताका विषयमा गृह प्रशासनको छानबिनमा रहेका लामिछाने गृह मन्त्री बने। म्यानपावर क्षेत्रमा संलग्न अर्यालले श्रम मन्त्रालयको जिम्मेवारी सम्हाले।

प्रतिक्रिया दिनुहोस्