अस्पतालले मृत घोषित गरेका शिशुले सास फेरेपछि…



विराटनगर । नमरेको बच्चालाई मृत घोषणा गरेपछि विराटनगरमा हल्लीखल्ली मच्चिएको छ। १९ दिनका शिशुले दूध नखाएपछि अस्पताल लगेकी उमादेवी मुखियाकी छोरीलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। बुधबार बिहान विराटनगर– १० मा रहेको माइतीघरबाट श्रीमान् दिलीप मुखियासहित आफन्तले एम्बुलेन्समा ल्याएर शिशुलाई कोसी अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरेका थिए।

जहदा गाउँपालिका– ३ घर भएकी उमादेवी बच्चा जन्मिएपछि माइतीघर विराटनगर– १० मा गएर बसेकी थिइन्। अस्पताल पुगेको केही समयपछि चिकित्सकले शिशुको धड्कन नचलेको भन्दै मृत घोषणा गरेका थिए। १९ दिनकी छोरीको मृत्युको खबरले उमासहित आफन्तको रुवाबासी मात्र चलेन, अन्त्येष्टिका लागि भन्दै माइतीघर लिएर गए। घर पुगेपछि आफन्तले हेर्दा शिशुले सास फेर्नुका साथै हात–खुट्टा पनि चलाएपछि हतारहतार एम्बुलेन्स बोलाएर कोसी अस्पताल नजिकै रहेको गोल्डेन अस्पताल भर्ना गरिएको थियो ।

बुधबार बिहान भर्ना गरिएकी शिशुको एनआईसीयूमा उपचार भइरहेको छ। कम तौलको शिशुमा शारीरिक कमजोरी, सङ्क्रमण र चिसोका कारण समस्या भएको हुन सक्ने गोल्डेन अस्पतालका चिकित्सकले जानकारी दिएका छन्।

बच्चाका अभिभावकले दिएको जानकारीअनुसार शिशुले दूध नखाएपछि कोसी अस्पताल लगिएको हो। अस्पतालमा शिशुलाई ३ जना डाक्टरले जाँच गरेका थिए। चिकित्सकले लापरबाही गरी बच्चालाई जिउँदै हुँदा पनि मृत घोषणा गरेका कारण स्थानीयमा आक्रोश थपिएको छ।

चिकित्सकमाथि हातपात

मृत घोषणा गरेको शिशुले सास फेरेपछि शिशुका आफन्तले कोसी अस्पतालमा गएर चिकित्सकमाथि हातपातसमेत गरेका छन्। शिशुको उपचारमा कोसी अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. आकाश यादवको नेतृत्वमा ३ जना स्वास्थ्यकर्मी खटिएका थिए। शिशुका आफन्तले हातपात गर्दा उनी सामान्य घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। हातपातमा उत्रिएका ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

कोसी अस्पताल विराटनगरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवले हातपात गर्नेहरूले माफी मागेपछि मिलापत्र भएको बताए। उनले शिशुलाई मृत घोषण गरेको विषयमा चिकित्सकमाथि सोधपुछ गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्