मधेस प्रदेश सरकारले आज बलिदानी दिवस मनाउँदै



जनकपुरधाम । हरेक माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ। तराई मधेसमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरणमा विगत चार वर्षदेखि मधेस प्रदेश सरकारले हरेक माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ।

मधेस प्रदेश सरकारले यस पटकको बलिदानी दिवस मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित मधेस भवनमा रहेको कवर्डहलमा मनाउने भएको छ । २०६३ सालमा भएको मधेस विद्रोहको सम्झनामा प्रदेश सरकारले बलिदानी दिवस मनाउन मनाउने गरेको छ।

माघ ५ गते सिराहाको लहानमा रमेश महतोको गोली लागेर ज्यान गएपछि मधेसका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो। यो दिनलाई स्मरण गर्दै प्रदेश सरकारले जनकपुरधाममा विशेष कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउने मधेस प्रदेश सरकारका मन्त्री सञ्जय यादवले जानकारी दिए।

समारोहमा प्रदेश सरकारका मन्त्री, सांसद तथा विभिन्न दलका शीर्षस्थ नेताहरूको उपस्थिति रहनेछ भने मधेस आन्दोलनमा सहिद भएका ६३ जना शहीद परिवार तथा घाइतेहरूलाई सम्मान गरिने उनले बताए। उनले मृतक सहिद परिवारलाई २ लाख र घाइते भएका परिवारलाई अवस्था हेरी २५ हजार देखि २ लाखसम्म रुपैयाँसम्म सहयोगसहित सम्मान गरिने जनाए।

प्रदेश सरकार बन्नुअघि मधेस केन्द्रित दलहरूले आ–आफ्नो तरिकाले बलिदानी दिवस मनाउँदै आएका थिए। प्रदेश सरकारले गत वर्ष बलिदानी दिवस राजविराजमा मनाएको थियो। यता जनता समाजवादी पार्टी(जसपा) नेपालले बलिदानी दिवस लहानमा मनाइरहेको छ। उक्त कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूको उपस्थिति रहेको छ। यसै अवसरमा प्रदेश सरकारले विगत ५ वर्षदेखि सार्वजनिक बिदा दिने गरेको छ।

प्रतिक्रिया दिनुहोस्