यती एयर दुर्घटनाबारे निष्पक्ष छानबिन हुन्छ : पर्यटनमन्त्री किराती



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाबारे प्रतिनिध सभा बैठकमा जानकारी गराएका छन्।

दुर्घटनाबारे जानकारी दिँदै मन्त्री किरातीले सरकारले विमान दुर्घटनामा गम्भीर भएर काम गरिहेको दाबी गरे। उनले दुर्घटनाको बारेमा यथार्थ पत्ता लगाउन ५ सदस्यीय छानबिन आयोग समेत गठन गरेको भन्दै उक्त आयोगलाई स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बनाउने बताए।

यती एयरलाइन्सको विमान काठमाडौबाट पोखरा जाने क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको उनले सदनमा जानकारी गराए। ७१ जनाको शव भेटिएको, १ जना बालकको खोजी कार्य जारी रहेको पनि उनले जानकारी गराए। विमान दुर्घटनापछि सूचना संकलन र उद्धार समेत तीव्र रुपमा अघि बढेको उनले बताए।

दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिको शवको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण भइरहेको उनले जानकारी दिए। मन्त्री किरातीले हवाई सेवालाई नियमित र विश्वासयोग्य बनाउन कार्ययोजना बनाउने बताए।

सरकार हवाई सेवाको सुरक्षामा गम्भीर रहेको उनले बताए। उनले छानविन आयोगलाई स्वतन्त्रपूर्वक काम गर्ने वातावारण बनाउने पनि बताए।

प्रतिक्रिया दिनुहोस्