ओलीले भने- छिमेकीसँग कार्ड खेल्दैनौं, हाम्रो भूमि कसैकाविरुद्ध प्रयोग गर्न दिँदैनौं



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँग कुनै कार्ड नखेल्ने बताएका छन्। नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र उनीहरुको जायज चासो-चिन्तालाई सम्बोधन गरेर अगाडि जाने उनले बताए।

एमालेको परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘दुइटा छिमेकीसँग कार्ड खेल्ने होइन हामीले भनेका छौं। हाम्रो अभ्यास पनि त्यस प्रकारको होइन।’

उनले अघि भने, ‘हामी हाम्रा छिमेकीहरुका निम्ति असल छिमेकी हुन चाहन्छौं । उनीहरुको कुभलो गर्दैनौं। भलो चिताएर उनीहरुलाई सहयोग पुर्‍याएर उनीहरुका जायज चासो, चिन्तालाई सम्बोधन गरेर अगाडि जान्छौं ।’

नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र कुनै सैन्य गतिविधिमा सामेल नहुने उनले बताए। ओलीले भने, ‘हाम्रो सार्वभौमसत्ता, स्वतन्त्रतामा कुनै सम्झौता गर्दैनौं । पारस्परिक लाभ र सम्मानका आधारमा सम्बन्ध कायम गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्