बाँकेमा दादुराका बिरामी बढ्दै



बाँके । बाँकेमा दादुराका बिरामी बढ्दै गएका छन्। जिल्लाभर २ सय ९ दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले बताए।

उनका अनुसार सबैभन्दा धेरै नेपालगञ्जमा १ सय ९१ बिरामी फेला परेका छन् भने नरैनापुर गाउँपालिकामा १३, खजुरा गाउँपालिकामा ३ जना र कोहलपुर नगरपालिकामा २ जना फेला परेका हुन्।

जिल्लामा अहिलेसम्म १ सय ५० निको भइसकेका छन् भने एक जनाको मृत्यु भएको छ। ५८ घरमै उपचाररत छन्। नेपालगञ्जका ३१ हजार ४२ जना र खजुराका ५ हजार ९ सय ७४ जना गरी ३७ हजार १६ बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाइएको कार्यालय बाँकेले जनाएको छ ।

नरैनापुर गाउँपालिकामा दादुराका बिरामी भेटिएपछि बालबालिकालाई बिहीबारबाट दादुरा रुबेलाविरुद्धको खोप लगाउन सुरु गरिएको छ। दादुराको जोखिम देखिएका वडाहरुका ६ महिनादेखि १५ वर्ष उमेर समूहका करिब १४ हजार २२ जना बालबालिकालाई खोप लगाइने नरैनापुर स्वास्थ्य संयोजक नगेन्द्रकुमार शाहले बताए।

नरैनापुरमा फैलिरहेको दादुरा महामारी नियन्त्रणमा लिन खोप अभियान सुरु गरिएको नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए। दादुराविरुद्धको खोपप्रतिको सचेतना अभावका कारण खोप प्रयोग नगर्दा प्रकोप फैलिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्