फिलिपिन्समा मासुभन्दा प्याज महँगो



एजेन्सी । फिलिपिन्समा १ किलो प्याजको मूल्य ११ डलर पुगेको छ । विश्वका कैयौँ देशमा प्याज एउटा आधारभूत खाद्यपदार्थ हो भने मासु विलासी। तर फिलिपिन्सको कथा भने अलि फरक छ। त्यहाँ प्याज मासुभन्दा निकै महँगो छ। केही एसियाली देशमा सन् १५२१ देखि १९९८ सम्म स्पेनको अधीनमा रहँदादेखि नै खानामा प्याज र लसुन प्रयोग गर्ने बानी परेको थियो र यसले एसियाली परिकारमा व्यापक प्रभाव पार्‍यो ।

तर झन्डै १ महिनाको अवधिमा फिलिपिन्सका सर्वसाधारणका लागि प्याज विलासी खाद्यवस्तु बन्न पुगेको छ । मूल्य बढेर प्याज कुनै पनि प्रकारको मासुभन्दा महँगो हुन पुगेको छ। ४ डलर (हालको विनिमय दरअनुसार ५२१ दशमलव ३६ नेपाली रुपैयाँ) मा कुखुराको मासु पाइने फिलिपिन्समा यो साता १ किलो रातो अनि सेतो प्याजको मूल्य ११ डलर (१,४३३ दशमलव ७५ नेपाली रुपैयाँ) सम्म पुगेको छ । यो मूल्य फिलिपिनोहरूको दैनिक न्यूनतम ज्यालाभन्दा बढी हो । फिलिपिन्समा अहिले दैनिक ज्याला झन्डै ९ डलरभन्दा केही बढी छ ।

मूल्य बढेसँगै सरकारी निकायहरूले गैरकानुनी रूपमा आयात गरिएको प्याज नियन्त्रणमा लिन थालेका छन् । जनवरीमा लुगा भनेर चीनबाट ३ लाख १० हजार डलर बराबरको प्याज आयात गर्ने प्रयास विफल पारिएको थियो । सामाजिक सञ्जालमा फिलिपिनोहरूले सरकारको आलोचना गरिरहेका छन्। अहिलेको अवस्था उत्पन्न हुनुमा सरकारको पनि दोष रहेको धेरैको बुझाइ छ।

‘गुडबाई चकलेट, हेलो प्याज ! फिलिपिन्समा ल्याउने सबैभन्दा उत्तम उपहार बन्ने सम्भावना प्याजको छ’, अमेरिकामा बस्ने फिलिपिन्सका एक नागरिकले ट्विटरमा लेखेका छन्। अमेरिका भ्रमणमा रहेका अर्का एक प्रयोगकर्ताले प्याजको धुलो भरिएको बट्टाको तस्बिर पोस्ट गरेका छन्।

गत अगस्टमा कृषि विभागले गरेको प्रक्षेपणले प्याजको उत्पादन मागभन्दा घट्ने सङ्केत गरेको थियो । तर उत्पादनको स्थिति भने अपेक्षा गरिएभन्दा पनि कम रह्यो । अगस्ट र सेप्टेम्बरको बीचमा आएको समुद्री आँधीका कारण फिलिपिन्समा व्यापक प्रभाव पर्‍यो। ‘दुर्भाग्यवश मूल्य बढिसकेपछि प्याजको आयात ढिलो गरी सुरु भयो, फेब्रुअरी महिनामा प्याज टिप्ने बेला हुन्छ’, फिलिपिन्सका एक अर्थशास्त्रीले भने।

अवस्था सामान्य बनाउँदै मूल्य नियन्त्रण गर्नका लागि सरकारले जनवरीको पहिलो साता २ करोड २० लाख टन प्याज आयात गर्न स्वीकृति दिएको थियो। कृषि विभागका सल्लाहकार समेत रहिसकेका फर्मिन एड्रियानोजस्ता केही विज्ञका अनुसार यो अहिलेको प्रशासनको गम्भीर असफलता हो। उनको विचारमा सरकारले स्वदेशी उत्पादन कम हुने थाहा पाएकाले कम्तीमा पनि अपेक्षित मागको आपूर्ति मिलाउन पर्याप्त आयात गर्न आदेश दिनुपथ्र्यो।

प्रतिक्रिया दिनुहोस्