राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा अर्याल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन्। शुक्रबार राति बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले श्रममन्त्री समेत रहेका उपसभापति अर्याललाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय गरेको हो।

प्रवक्ता मुकुल ढकालका अनुसार बैठकले सभापति रवि लामिछानेको नागरिकताको सम्बन्धमा सर्वोच्चले गरेको फैसला मानेर अघि बढ्ने निर्णय पनि भएको छ। सो निर्णयबारे आइतबार निर्वाचन आयोगलाई जानकारी दिइने ढकालले बताए। बैठकले संसदीय दलको नेता पनि अर्याललाई नै बनाउने निर्णय गरेको छ। शुक्रबार सर्वोच्च अदालतले सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर गर्दै लामिछाने सांसदबाट पदमुक्त हुने फैसला गरेको थियो। लगत्तै लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएका थिए।

कानुनअनुसार उनी पार्टीको सभापति बन्न पनि अयोग्य हुने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापति चयन गरेको हो। पछिल्लो परिस्थितिबारे राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार कानुनविदसँग छलफल गर्ने प्रवक्ता ढकालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्