रविको नागरिकता प्रकरणको फैसला मुलुकमा न्याय नमरेको प्रमाण : शेखर कोइराला



विराटनगर । रवि लामिछानेको नागरिकता प्रकरणबारेको फैसलाले देशमा कानुनी राज्य छ भनेर उदाहरण देखाएको कांग्रेस नेता डा. शेखर कोइरालाले बताएका छन्। शनिबार विराटनगरमा आयोजित कांग्रेस निकट नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम प्रदेश अधिवेशन उद्घाटन अवसरमा नेता कोइरालाले यस्तो बताएका हुन्।

मुलुकबाट न्याय मरिसकेको भनेर न्यायलयप्रतिको घट्दो विश्वासलाई शुक्रबार सर्वोच्च अदालतले गरेको फैसलाले विश्वासको सञ्चारमा मद्दत पुगेको नेता कोइरालाको भनाइ छ। अर्को एक प्रंसगमा नेता कोइरालाले कांग्रेस ठूलो पार्टी भएकाले अहिले प्रमुख प्रतिपक्ष भए पनि कुनै पनि बेला सरकारको नेतृत्व गर्न सक्ने दाबी गरे।

उनले आगामी राष्ट्रपतिको चुनावमा कांग्रेसले उम्मेदवारी दिने बताएका छन्। पार्टीभित्र उम्मेदवारका विषयमा छलफल चलिरहेको र नाम टुंगो नलागे पनि उम्मेदवारी दिनेमा भने कांग्रेस प्रस्ट रहेको उनको भनाइ छ। लामिछानेले गृहमन्त्री पदको दुरुपयोग गरी आफ्ना पक्षमा सम्पूर्ण राज्य संयन्त्र प्रयोग गरे पनि सर्वोच्च अदालतले न्याय सम्पादनमा निष्पक्षता देखाएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्