रास्वपाका कारण एमाले र माओवादीको दुरी बढ्दो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पदमुक्त भएपछि रिक्त रहेको गृह मन्त्रालयको विवादले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले नेता केपी शर्मा ओलीबीचको दुरी अझ बढ्दो छ । पूर्वसहमतिअनुसार गृह मन्त्रालय रास्वपालाई नदिन पार्टीभित्र चर्को दबाब परेपछि प्रधानमन्त्री प्रचण्ड अप्ठ्यारोमा परेका हुन् ।

विश्वासको मत लिने बेलामा प्रतिनिधिसभाका लगभग सबै सांसदको समर्थन पाएका प्रधानमन्त्री प्रचण्डले सरकारमा महत्वपूर्ण कुनै मन्त्रालय लिन सकेका छैनन् । सरकारको नेतृत्व गरेको पार्टीले गृह, अर्थ, परराष्ट्र जस्ता महत्वपूर्ण मन्त्रालय लिने प्रचलन छ । तर, तीमध्ये माओवादीले अहिले कुनै पनि मन्त्रालय पाएको छैन । पार्टीभित्रको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई अहिले रिक्त रहेको गृह मन्त्रालय नछाड्न नेताहरूबाट सुझाव आएको सचिव लीलामणि पोखरेलले बताए । रास्वपा सभापति लामिछाने गैरसांसद भए पनि पुरानै जिम्मेवारीमा फर्कने चाहनामा छन् ।

आफूलाई नभए पनि आफ्नो पार्टीले पठाएको व्यक्तिलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई लामिछानेले दबाब बढाएका छन् । प्रचण्ड भने गृह मन्त्रालय आफैँसँग राख्ने मनस्थितिमा छन् । तथापि माओवादी पदाधिकारी बैठकले लामिछानेको मुद्दाको फैसलाको पूर्ण पाठ नआएसम्म गृहमन्त्रीबारे निर्णय नगर्ने निर्णय गरिसकेको छ । रास्वपा भने तत्काल नै सरकारमा आफ्ना तर्फबाट गृहमन्त्री पठाउन चाहन्छ ।

लामिछानेलाई सरकारमा फर्काउन प्रधानमन्त्रीले इच्छा नदेखाए पनि सत्ता गठबन्धन दलको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी ओली सकारात्मक छन् । उनले रास्वपा सभापतिलाई गठबन्धन दलको सहमतिअनुसार गृहमन्त्री बनाउन सर्वोच्च अदालतको पूर्णपाठ नचाहिने तर्क गरे ।

ओलीले रविकै विषयले गठबन्धनमा सङ्कट आउन लागेको समेत बताए । प्रचण्डमाथि गृहमा फर्किन दबाब बढाइरहेका लामिछानेलाई ओलीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका सभापति राजेन्द्र लिङ्देनले पनि साथ दिएका छन् । उनले बिहीबार बिहान बालुवाटार पुगेर लामिछानेलाई पुरानै जिम्मेवारीमा फर्काउँदा सत्ता गठबन्धन बलियो हुने सुझाव दिएका थिए । प्रधानमन्त्री प्रचण्ड भने आफूमाथि चौतर्फी दबाब भए पनि सर्वोच्चको फैसलाविपरीत जान नहुने अडानमा छन् ।

गृह मन्त्रालयको विषयले मात्रै नभएर सत्ता गठबन्धनमा राष्ट्रपतिको विषयमा पनि उस्तै खटपट छ । १० पुसमा भएको सहमतिअनुसार एमालेको भागमा परेको राष्ट्रपतिमा माओवादीले अहिले राष्ट्रिय सहमति खोजेको छ । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर थापेको ‘ढोक्सा’का कारण प्रचण्डलाई केही कम्फर्टेबल भएको छ ।

यही गठबन्धनलाई निरन्तरता दिने कि पुरानै गठबन्धनमा फर्किने भन्ने विषयमा पनि प्रचण्डमाथि नेताहरूको दबाब छ । त्यस विषयमा माओवादी नेताहरू दुई भागमा बाँडिएका छन् । एमाले अध्यक्ष ओली माओवादीले खोजेको राष्ट्रिय सहमति एमालेको उम्मेदवारमै जुट्नुपर्ने दाबी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्