पोर्चुगलमा रहेका नेपालीहरुको समस्या समाधान गर्न माग



काठमाडौं । गैर आवासीय नेपाली संघ पोर्चुगलले पोर्चुगलमा नेपालीहरुले भोगिरहेका समस्याहरुको उचित समाधान गर्न फ्रान्सको पेरिस स्थित नेपाली राजदूतावासमा ज्ञापन पत्र बुझाएको छ। विशेष गरी पोर्तुगलमा नेपाली दुतावास विहीन भएका कारणले त्यहाँका नेपालीहरुले भोगिराखेका राहदानी सम्बन्धी जटिल समस्याहरुको समाधानका लागि शुक्रबार एनआरएनए पोर्चुगलका अध्यक्ष सोमफुरी शेर्पा नेतृत्वको टोलीले राजदुत दीपक अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो।

“नेपाली राजदुतावास फ्रान्सको कार्यक्षेत्रभित्र पर्ने पोर्चुगलमा ई–पासपोर्ट लागु भएको सुचना प्रकाशित गरेको झण्डै ९ महिना हुन लाग्दा समेत एक पटक पनि राजदुतावासको टोली निरीक्षण वा अनुगमन गर्न समेत नआएको प्रति हामी अत्यन्तै दुखित भएका छौ” संघका अध्यक्ष सोमफुरी शेर्पा र सचिव मिलन रेग्मीद्धारा हस्ताक्षर गरिएको विज्ञप्ती भनिएको छ।

“भिषा सकिएका वा रेसिडेन्स कार्ड नबनेका नेपालीहरु गैरकानुनी रुपमा फ्रान्स आउन दुई देशको सिमान पार गरेर आउन अत्यन्तै जोखिमपुर्ण रहेको छ। रेसिडेन्स कार्ड हुनेहरुको हकमा पोर्चुगल जस्तो कम आम्दानी भएको देशमा नेपालीहरुलाई एउटा पासपोर्ट बनाउन समय र धेरै पैसा खर्च गरेर आउनुपर्ने बाध्यता रहेको” उक्त विज्ञप्तीमार्फत राजदुत अधिकारीलाई जानकारी गराइएको छ।

गत २३ जनवरी २०२३ का दिन गैर आवासीय नेपाली संघ पोर्चुगलले त्यहाँका नेपालीहरुको समस्याबारे गुनासाहरु राख्न र समाधानका उपायहरुको सुझाव संकलन गर्न लिस्बनमा एक कार्यक्रमको आयोजना गरिएको थियो। सोही कार्यक्रममा आएका गुनासाहरुसुझावहरुलाई नै लिएर टोली पेरिसको नेपाली राजदुतावासमा पुगेको अध्यक्ष शेर्पाले बताए। ज्ञापन पत्र बुझ्दै राजदुत दीपक अधिकारीले पोर्चुगलमा नेपालीहरुले भोग्नुपरेका समस्य आफैमा गम्भीर प्रकृतिको भएकाले त्यसको समाधानका लागि राजदूतावासले गम्भीर रुपमा सोच्ने बताए।

अहिले इ–पासपोर्टको व्यवस्था लागू भएपछि सम्बन्धित व्यक्त स्वंम उपस्थित हुनैपर्ने भएकाले कागजी समस्याका कारण पोर्चुगलबाट पेरिस दूतावाससम्म आउन समस्या हुनेहरुका लागि दुतावासको टोली पोर्चुगल नै गएर सेवा दिने राजदूत अधिकारीले प्रतिबद्धता व्यक्त गरेका छन। जसका लागि एक टोली परराष्ट्र मन्त्रालयबाट एक महिनाका लागि आउने निर्णय भएको जानकारी गराउँदै उनले कहिले उक्त टोली पोर्चुगल आउने भन्ने बारे दूतावासले सूचना जारी गर्ने बताए।

साथै राजदूतावाससँग कुनै परामर्श र जानकारी बेगर केही दिन अगाडि पोर्चुगलकै एक समूहले सामाजिक संजालमा अनावश्यक रुपले प्रचार गरेकोप्रति पनि राजदूत अधिकारीले आपत्ति जनाएका छन। गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष शेर्पाको नेतृत्वमा ज्ञापन पत्र बुझाउन गएको उक्त टोलीमा संघका वरिष्ठ उपाध्यक्ष बिनु बस्नेत, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका केन्द्रीय सदस्य धनराज शेर्पा, नेपाली समाज पोर्तुगलका अध्यक्ष कुमार योञ्जन, प्रवासी नेपाली मञ्च पोर्तुगलका उपाध्यक्ष धनीराम पौडेल र शेर्पा किदुग पोर्तुगलका सदस्य कुङगा शेर्पाको सहभागिता रहेको थियो । 

 

प्रतिक्रिया दिनुहोस्