सिंहदरबारमा विपक्षी गठबन्धनको बैठक



काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष चयनको पूर्व सन्ध्यामा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरूको बैठक सिंहदरबारमा जारी छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलहरूको बैठक बसिरहेको हो। बैठकमा कांग्रेस, एकीकृत समाजवादी, लोसपालगायत दलका शीर्ष नेताहरूको उपस्थिति रहेको छ।

बैठकमा राष्ट्रपति र राष्ट्रियसभाको उपाध्यक्ष चयनबारे छलफल भइरहेको बताइएको छ। राष्ट्रपति चयनका लागि आगामी फागुन २५ गते निर्वाचन हुँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते सकिँदै छ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन भने यही माघ २३ गते हुँदै छ। राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएर सर्वसम्मत हुन नदिएको कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पनि सर्वसम्मत हुन नदिनका लागि उम्मेदवारी दर्ता गराउने भएको छ।

प्रतिक्रिया दिनुहोस्