गृह विवाद मात्र हाेइन, सत्ता साझेदारबीच विचारमै बेमेल देखियो : कांग्रेस नेता लेखक



काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सरकारमा रहेका दलहरूबीच गृह मन्त्रालय मात्र नभएर अन्य विषयमा पनि विवाद रहेको बताएका छन् । सिंहदरबारमा विपक्षी दलहरूको बैठकपछि प्रतिक्रिया दिँदै लेखकले सत्ता साझेदार दलबीच गृह मन्त्रालयबारे विवाद मात्रै नभएर सैद्धान्तिक र वैचारिक बेमेल समेत रहेको टिप्पणी गरेका हुन्।

सत्ता साझेदार दलबीच संसदमै मतभेद देखिएकाले आफूहरुले सुक्ष्म ढंगले हेरिरहेको उनले बताए। “सरकारमा रहेका दलहरूमा सैद्धान्तिक र वैचारिक बेमेल छ। त्यो संसदमा पनि देखिएको छ,” लेखकले भने, “यसलाई गम्भीर ढंगले, सुक्ष्म ढंगले हेरिरहेका छौँ ।”

लेखकले विपक्षी दलका तर्फबाट राष्ट्रियसभा उपाध्यक्षमा साझा उम्मेदवार खडा गरिने बताए। भोलि मनोनयन र पर्सी चुनाव रहेकाले भोलि बिहानसम्म निर्णय हुने उनले जानकारी दिए। नेता लेखकले संसदमा भएका प्रतिपक्षी दलहरूसँग छलफल गरेर साझा उमेदवार उठाउने बताए। यसका लागि भोलि पुनः बैठक बस्नेछ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको विपक्षी दलको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माधवकुमार नेपाल, महन्थ ठाकुर, रामचन्द्र पौडेल, रमेश लेखक, प्रकाश ज्वालालगायत नेता सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्