ओली म्याराथन : ४१ दिनमा १५ पटक बालुवाटार, प्रचण्ड हाबी कि ओलीको स्वार्थ ?



काठमाडौं । प्रधानमन्त्री बनेलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाटै देशको शासन चलाउने प्रतिबद्धता व्यक्त गरेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पद तथा गोपनीयताको शपथ लिएको शनिबार ४१ दिन पुगेको छ। १० पुसमा आफूलाई बहुमत सांसदले विश्वास गर्ने दाबीसहित सांसदहरूको हस्ताक्षर र नामावली राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएका प्रचण्डलाई ११ पुसमा राष्ट्रपति भण्डारीले शपथ खुवाइन्।

सिंहदरबारबाटै देशको शासन गर्ने प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्रीको शासन भने सरकारी निवास बालुवाटार केन्द्रित छ। प्रधानमन्त्री भएको ४१ दिन पुग्दासम्म प्रधानमन्त्रीको राजनीतिक र प्रशासनिक कामसमेत उनले सरकारी निवासबाटै गरिरहेका छन् । अधिकांश राजनीतिक, कूटनीतिक भेटवार्तासमेत यहीँबाट भइरहेको छ।

अधिकांश भेटघाट, छलफल र प्रशासनिक कामसमेत सरकारी निवासबाट गर्ने प्रधानमन्त्री प्रचण्डले गत बिहीबार पनि सिंहदरबारबाटै शासन गर्ने प्रतिवद्धता दोहोर्‍याए। तर, उनले विभिन्न देशका राजदूतसँगको भेटघाट तथा पीडित जनताको ज्ञापनपत्र बुझ्ने कामसमेत सरकारी निवासबाटै गरे। प्रचण्ड प्रधानमन्त्री बनेपछि बालुवाटार रोचक बन्दै गएको छ। निर्वाचनमा कांग्रेसलगायत दलसँग गठबन्धन गरेका प्रचण्ड प्रधानमन्त्री बन्न एकाएक गठबन्धन तोडेर एमालेलगायत दलसँग सत्ता साझेदारी गर्न पुगे ।

प्रचण्ड प्रधानमन्त्री बनेपछि बालुवाटार रोचक हुनुका कारण भने एमाले अध्यक्ष केपी शर्मा ओली हुन् । निर्वाचन अघिसम्म कमजोर सम्झने माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओली सबैभन्दा बढी बालुवाटार धाउने नेता बनेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा १ पटक पनि बालुवाटार नछिरेका ओली प्रचण्ड प्रधानमन्त्री भएपछि १५ पटक पुगिसकेका छन् । प्रधानमन्त्री प्रचण्डलाई मात्र ८ पटक बालुवाटारमा एक्लै भेटेका ओली अन्य बैठकसहित शनिबारसम्म १५ पटक बालुवाटार पुगेका हुन् ।

त्यसो त उनीहरूबीच निजी निवासमा समेत भेट नभएको होइन। प्रधानमन्त्री भएपछि प्रचण्ड ओली निवास बालकोट २ पटक पुगे। २७ पुस र २ माघमा ओलीलाई भेट्न प्रचण्ड बालकोट पुग्दा प्रचण्डलाई भेट्न १ पटक खुमलटार पुगेका ओली त्यसपछि बालुवाटार धाइरहेका छन्। उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका ओलीले प्रचण्डसँग १५, १९, २८ र ३० पुसमा व्यक्तिगत भेट गरे । त्यस्तै उनले १०, १२, १८ र २१ माघमा गरी प्रचण्डसँग ८ पटक एकल भेट गरे।

संविधान र कानुनले नचिन्ने भए पनि नेपाली राजनीतिको प्रयोगमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकको हैसियतमा ओली आफैँले प्रधानमन्त्री प्रचण्डलगायत अन्य नेताहरूलाई आफ्नो अनुकूलतामा भेट गर्न बोलाएका छन् । तर, १४ पुसमा बालुवाटारमा भएको शीर्ष नेताहरू र सत्ता साझेदार दलसँगको छलफलमा सहभागी हुन ओली पुगे । २० पुसमा पुनः सत्ता साझेदार दलसँग छलफल गरेका उनीहरू २५ पुसमा सरकारको नीति तथा कार्यक्रमबारे छलफलमा सहभागी भए ।

२४ पुसमा सत्ता साझेदार दलहरूको छलफलमा सहभागी भएका ओली २ माघमा सत्ता साझेदार दलको बैठक र ३ माघमा सर्वदलीय बैठकमा सहभागी हुँदासम्म १५ पटक बालुवाटार पुगेका छन् ।
ओलीले यसरी बालुवाटार धाउनुको उद्देश्य प्रचण्डलाई फकाएर राष्ट्रपति आफ्नो हातमा ल्याउने दाउ भएको देखिन्छ । सत्ता साझेदार दलबीच राष्ट्रपति एमालेलाई दिने समझदारी छ । तर, नेपालको पछिल्लो राजनीतिक परिदृश्य सत्ता साझेदार दलबीच भएको समझदारीअनुसार देखिँदैन ।

यही कारण पनि प्रचण्डलाई प्रधानमन्त्री बनाएर सभामुख आफ्नो हातमा लिएका ओली राष्ट्रपति गुमाउन चाहँँदैनन् । प्रचण्ड–ओलीले आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्ने सत्ता साझेदार दलबीच भएको समझदारीअनुसार यो गठबन्धन कायम रहेको अवस्थामा प्रचण्डपछि ओली प्रधानमन्त्री बन्ने निश्चित छ । राष्ट्रपति र सभामुख आफू अनुकूल बनाएर आफू प्रधानमन्त्री बन्दा शक्तिशाली हुने ओलीको भोगाइ छ । अघिल्लो पटकको प्रधानमन्त्रित्वकालमा सभामुख आफू प्रतिकूल र राष्ट्रपति आफू अनुकूल हुँदाको अवस्था ओलीले भोगिसकेका छन् ।

सत्ता साझेदार दलको राजनीतिक नेतृत्व गरिरहेका ओली प्राविधिक पदहरू मिलाउन लागिरहँदा आफूले हस्ताक्षर गरेर सार्वजनिक गरेको नीति तथा कार्यक्रम भने ओझेलमा परेको छ । घोषणा गरेका कार्यक्रमहरू १ महिनाभित्र परिणाममा देखिने गरी काम गर्ने प्रतिबद्धता गरे पनि सरकारले झन्डै डेढ महिना पुग्न लाग्दासमेत कुनै ठोस काम देखाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्