चोरी अभियोगमा बालकलाई बन्धक बनाएर चरम यातना, प्रहरीले दर्ता गरेन जाहेरी



  • विशाल बस्नेत

महोत्तरी । बर्दिबासमा एक बालकलाई ६ घन्टासम्म बन्धक बनाएर निर्घात कुटपिट गरेको पाइएको छ। बर्दिबास– १२ बस्ने १४ वर्षीय इन्द्रजितकुमार महतोलाई खुत्रुकेमा जम्मा गरेको पैसा चोरेको आरोपमा स्थानीय युवाहरूले निर्ममतापूर्वक कुटपिट गरेको खुलासा भएको हो। पीडित परिवारका अनुसार स्थानीय युवाहरू रञ्जित महतो, सञ्जित महतो, हरि महतो, रामजनम महतो, सुशील महतो र रञ्जित चौधरीले ६ घन्टासम्म बन्धक बनाएर उनलाई कुटपिट गरेका थिए ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार युवाहरूले बालकलाई बाइकमा पछाडि राखेर घिसार्दै आरोपितमध्येका सञ्जित महतोको घरमा पुर्‍याएर ६ घन्टासम्म यातना दिएको बताइएको छ। २३ माघको दिउँसो झन्डै १२ बजे नियन्त्रणमा लिएर बेलुका ६ बजेमात्र उनीहरूले छाडेको पीडित बालक इन्द्रजित महतोले बताए। ‘मलाई बाइकमा घिसारेर सञ्जित महतोको घरमा पु¥याए, अनि डोरीले दुवै हात बाँधेर झुन्ड्याएर कुटपिट गरे,’ पीडित बालक इन्द्रजितले भने, ‘खुकुरी देखाए, पैतालामा तारले कुटे।’

पीडित बालकको पैतालामा सिर्कनाले हानेको निलडाम अझै देख्न सकिन्छ। हिँडडुल गर्नसमेत समस्या बनिरहेको अवस्थामा उनी विद्यालयसमेत जान सकेका छैनन्। गाउँकै एक विद्यालयमा कक्षा– ६ मा अध्ययन गर्ने पीडित महतोलाई चोरी गरेको स्वीकार गर्न भन्दै यातना दिइएका बालकको शरीरभरि घाउ र निलडाम छन्।

महतोको पछाडि ढाडमा लठ्ठीले हानेजस्ता सुम्ला देखिन्छन् भने खुट्टामा समेत गहिरो निलडाम छ। ‘मलाई पानीमा मुन्टो डुबाए, अनि पैतालामा पनि असह्य हुने गरी पिटे,’ इन्द्रजितले रुँदै भने, ‘टाउकोमा पनि औँठी लगाएको हातले जोडले हाने ।’ युवाहरूले निर्घात कुटपिट गरेर बेलुका छाडेपछि पीडित परिवारजनले गाउँमा नै रहेको सुरज बस्नेतको क्लिनिकमा पु¥याएर उपचार गरेका थिए। ‘उपचारमा मात्र २ हजार खर्च भयो, आम्दानीको स्रोत केही छैन,’ पीडित बालककी आमा कौशिला देवीले भनिन् ।

घरमा आएर आफूलाई समेत युवाहरूले अभद्र व्यवहार गरेको उनी बताउँछिन् । पीडित बालकका बुबा भोला महतो बर्दिबासस्थित एक बेकरीमा काम गर्छन्। आफ्नो छोरालाई निर्घात कुटपिट गर्ने युवालाई कडा कारबाही गर्न पीडित परिवारले माग गरेको छ। यता, घटना भएको भोलिपल्ट नै प्रहरी चौकी हात्तीलेटमा निवेदन दिए पनि प्रहरीले बेवास्ता गरेको पीडित परिवारको भनाइ छ।

हात्तीलेटस्थित प्रहरी चौकीका इन्चार्ज इन्द्रजित ठाकुरले भने घटनाको विषयमा जानकारी भएको तर पीडितहरू नै जाहेरी दिन नआएको बताए। तर पीडित पक्षले प्रहरी चौकीले ३०० रुपैयाँ दस्तुर लिएर निवेदन दर्ता गरिसकेको दाबी गरेका छन् । कुटपिट जस्तो अपराधमा प्रहरीले आरोपितहरूलाइ उन्मुक्ति दिन खोजेको पीडित परिवारको आरोप छ। इलाका प्रहरी कार्यालय गौरीडाँडाले पनि घटनाको विषयमा अनभिज्ञता जनाएको छ।

इलाका हेर्ने प्रहरी नायब उपरीक्षक रवि रावलको सरुवा भएपछि उनको स्थानमा विजय यादव आएका छन् । घटनाको विषयमा छानबिन गरी दोषीहरूलाई कानुनी दायरामा ल्याउने उनको भनाइ छ । प्रहरी उपरीक्षक प्रकाश मल्लले पनि घटनाको विषयमा जानकारी लिएर अनुसन्धान प्रक्रिया अघि बढाउने बताए।

कसरी भयो घटना ?
२२ माघमा रञ्जित महतोको घरमा राखेको माटोको खुत्रुके एक्कासि हरायो । हराएपछि रञ्जितले आरोपितमध्येका साथीहरूसँग छलफल गरे। ६ महिनाअघि पनि चोरीको आरोप खेपेका बालक इन्द्रजितले नै माटोको खुत्रुकेमा राखेको पैसा चोरी गरेको उनीहरूले आशङ्का गरे । त्यसपछि इन्द्रजितलाई नियन्त्रणमा लिएर ६ घन्टासम्म बन्धक बनाएर यातना दिए।

इन्द्रजितले नै चोरी गरेको स्वीकार गराउन उनीहरूले कुटपिट मात्र गरेनन्, डोरीले बाँधेर पैताला, टाउको र ढाडमा सिर्कना, मुक्का र लात्ती बजारे । इन्द्रजितलाई नियन्त्रणमा लिएर गरिएको कुटपिट निकै डरलाग्दो भएको प्रत्यक्षदर्शी भरोसीकुमार महतो बताउँछन्। ‘मैले मोटरसाइकलमा बाँधेको त देखेँ, तर त्यसपछि कहाँ लगे भन्ने एकिन गर्न सकिनँ,’ उनले भने, ‘पछि थाहा भयो– उसलाई सञ्जित महतोको घरमा लगेका रहेछन् ।’

प्रतिक्रिया दिनुहोस्