उपत्यकाको वायुमा विषाक्त कण उच्च, एक्यूआई २०० नाघ्दा मानव स्वास्थ्य जोखिममा



काठमाडौं । काठमाडौं उपत्यकामा वायु गुणस्तर सूचकाङ्क ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) खस्किएको छ। प्रायः हरेक दिनको मौसम र आकाश सफा भए पनि वायुमा विषाक्त कणको मात्रा उच्च छ। ललितपुरको भैँसेपाटी, खुमलटार, काठमाडौंको शङ्खपार्क, रत्नपार्क र आसपासका भेगमा वायुको गुणस्तर जनस्वास्थ्यका दृष्टिले जोखिम तहमा पुगेको छ।

२४ घन्टा र प्रत्येक घन्टाको वायुको गुणस्तर खस्किएको छ। बुधबार दिउँसो ३ बजे भैँसेपाटीको एक्यूआई ३६९ मापन भएको थियो। यो अवस्थालाई जनस्वास्थ्यका दृष्टिले उच्च जोखिम मान्ने गरिन्छ।एक्यूआई २०० भन्दा माथि पुगेपछि निकै जोखिम मानिन्छ। मानव स्वास्थ्यका लागि एक्यूआई ५० सम्मलाई उत्तम र ५० देखि १०० लाई सामान्य, १०० देखि २०० लाई मध्यम मान्ने गरिएको छ।

भैँसेपाटीको एक्यूआई बुधबार साँझ खस्किएर २०० हाराहारी आएको थियो। हावाको गति र कुनै क्षेत्रमा मानवीय र अन्य कारणले प्रदूषण बढ्दा एक्यूआईमा उतारचढाव आउने वातावरण विभागका सिनियर केमिस्ट शङ्करप्रसाद पौडेलले बताए।

‘भैँसेपाटीमा अघिपछि पनि तुलनात्मक रूपमा प्रदूषण बढी हुन्छ, उपत्यकामा पश्चिमी वायु भित्रिने नाकाहरूमध्ये भैँसेपाटी पनि हो’, उनले द नेपालटपसँग भने, ‘सो क्षेत्र हुँदै स्वच्छ वायुसँगै प्रदूषित वायु पनि भित्रिने भएकाले प्रदूषण बढी देखिने गर्छ।’ हावाको गतिमा आउने उतारचढावले वायुको अवस्था हेरफेर हुने भएकाले २४ घन्टाको अवस्था विश्लेषण गरेर मात्र एक्यूआईको औसत मात्रा तय हुने पौडेलले बताए।

२४ घन्टामा खुमलटारको एक्यूआई १५३, भैँसेपाटीको १३०, शङ्खपार्कको ११२ पुगेको छ। उपत्यकाका अन्य भेगमा यो साता वायु गुणस्तर सूचकाङ्क औसतमा १५० हाराहारी देखिएको छ। धनकुटा, पोखरालगायत भेगको एक्यूआई औसतमा १०० भन्दा माथि छ । नेपालको राष्ट्रिय मापदण्डअनुसार २४ घन्टामा सूक्ष्म धुवाँ र धुलोको कण (पीएम २.५) को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर हो।

हिउँदमा काठमाडौं उपत्यकामा पीएम २.५ को मात्रा २४ घन्टामा २०० घनमिटर भन्दा माथि पुग्ने गर्छ । वायु प्रदूषणले स्ट्रोक, मुटु रोग, फोक्सोको क्यान्सरजस्ता समस्या निम्त्याउने गर्छ । नेपालमा पश्चिमी वायुसँगै भित्रिने प्रदूषित वायु, सवारीसाधन, उद्योग, कलकारखानाले फाल्ने धुवाँ, धुलोसँगै खेतबारी र खुला स्थानमा जलाइने विभिन्न प्रकारका फोहोरको धुवाँले वायु गुणस्तर खस्किने विज्ञहरू बताउँछन् । सुख्खा मौसममा डढेलो उच्च सम्भावना भएकाले प्रदूषणको अवस्था अझै खस्कने उनीहरूको तर्क छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का अनुसार हरेक वर्ष विश्वमा ७० लाख हाराहारी व्यक्तिको मृत्यु वायु प्रदूषणले हुने गर्छ । सो संस्थाको प्रतिवेदनअनुसार विश्वमा वायु प्रदूषणले हरेक वर्ष ७० लाख व्यक्तिको मृत्यु हुन्छ । वायु प्रदूषणका धेरै कारक तत्वमध्ये जलवायु परिवर्तनले पनि वायु गुणस्तर खस्काउने २ वर्षअघि (सन् २०२१ मा) सार्वजनिक भएको डब्लूएचओको प्रतिवेदनले औँल्याएको छ । वायु गुणस्तरबारे विश्वव्यापी अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरलगायत सङ्घ/संस्थाले काठमाडौं उपत्यका विश्वका प्रदूषित शहरको सूचीमा सूचीकृत गर्दै आएका छन् ।

चल्दैनन् प्रदूषण स्टेसन

वातावरण विभाग मातहत मुलुकका विभिन्न भेगमा २७ वटा स्वचालित प्रदूषण मापन स्टेसन छन् । तर, अधिकांश स्टेसन सुचारु छैनन् । कुल २७ स्टेसनमध्ये ९ वटा मात्रै सञ्चालनमा छन् । नेपालगन्ज, दाङ, लुम्बिनी, पोखरा (पोखरा विश्वविद्यालय परिसर) सौराहा, सिमरा, दमक, धुलिखेल, भक्तपुर, जनकपुर, धनगढी, भीमदत्त (महेन्द्रनगर), विराटनगर, सुनसरीको झुम्का, ललितपुरको पुल्चोक, सुर्खेत, कीर्तिपुर र चितवनको भरतपुर स्टेसन लामो समयदेखि बन्द छन् ।

ललितपुरको खुमलटार, भैँसेपाटी, काठमाडौंको रत्नपार्क, शङ्खपार्क, धनकुटा, हेटौँडा, मुगुको रारा, पोखराको गण्डकी बोर्डिङ परिसर र हावापानी कार्यालय परिसरका स्टेसन मात्रै सञ्चालनमा छन्। धेरै स्टेसन बन्द रहेको स्वीकार्दै विभागका प्रवक्तासमेत रहेका पौडेलले भने, ‘कतिपय स्टेसन मर्मतका क्रममा छन्, उपकरण र अन्य स्रोत साधन अभावले सबै स्टेसन चलेका छैनन्।’

अधिकांश स्टेसन बन्द हुँदा देशभरको वायु गुणस्तरको वास्तविक विवरण विश्लेषण गर्न कठिनाइ भएको उनले बताए। पुल्चोक, रत्नपार्क र धुलिखेलको स्टेसन स्थापनामा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले प्राविधिक सहयोग गरेकाले मर्मत सम्भारमा पनि इसिमोडबाटै हुनुपर्ने पौडेलको भनाइ छ।

पानी चुहिने समस्या भएपछि धुलिखेलको स्टेसन बन्द छ । विभागको स्वामित्वमा रहेका पोखरा विश्वविद्यालय परिसर र विराटनगरका स्टेसन अन्यत्र सार्नुपर्ने भएकाले बन्द छन् । अन्य स्टेसनमा प्राविधिक स्रोत साधन अभाव रहेको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्