तनहुँका २ स्वास्थ्य केन्द्र गाभिने



तनहुँ । तनहुँको भानु नगरपालिका–२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र र भानु सामुदायिक स्वास्थ्य केन्द्र गाभिने भएका छन्। नगरपालिकाको एघारौँ नगरसभाले दुवै स्वास्थ्य संस्थालाई गाभेर एकै स्थानबाट सेवा प्रवाह गर्ने निर्णय गरेको हो। दुवै स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिलाई एकै ठाउँमा परिचालन गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

नगरसभाले योजना कार्यक्रमको संशोधन तथा सोका लागि बजेट रकम रकमान्तर गर्ने विषयलाई पारित गरेको नगरपालिकाका नगरप्रमुख आनन्द त्रिपाठीले जानकारी दिए। नगरपालिकाले नयाँ सङ्गठन तथा व्यवस्थापन सर्भेक्षणको प्रतिवेदन, २०७९ स्वीकृत गरेको छ।

भानु–२ मा गरिबसँग विश्वश्वर कार्यक्रमअन्तर्गत कार्यरत सामाजिक परिचालक जानुका बस्नेतको रु पाँच हजार प्रोत्साहन भत्ता थप गरेको छ। त्यसैगरी, स्वास्थ्यतर्फका तीन प्राविधिक करारका कर्मचारी बन्दना कार्की, पुष्पाञ्जली जोशी र रश्मा पौडेलको सोही तहका अन्य कर्मचारीसरह हुनेगरी मासिक पारिश्रमिक रु बीस हजार कायम गरेको छ । बेरुजु नियमित गर्ने पारित गरेको छ भने प्रवक्तामा ईश्वरबहादुर घिमिरेलाई तोकेको नगरप्रमुख त्रिपाठीले बताए ।

प्रतिक्रिया दिनुहोस्