भ्रष्टाचारीलाई जोगाउने गरी बयान दिएको भन्दै ३ जनाविरुद्ध अख्तियारले चलायो मुद्दा



काठमाडौं । भ्रष्टाचार आरोपीलाई नै जोगाउने गरी बयान दिएको भन्दै तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ। भ्रष्टाचार आरोपीकै समर्थनमा बयान दिएको भन्दै अख्तियारले विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको हो।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्रप्रसाद साहले घुस लिएर भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलिरहेको थियो। उक्त मुद्दामा सरकारी साक्षीको रुपमा बद्रि आचार्य भन्ने समुन्द्र आचार्य, चिरञ्जिवी आचार्य र रत्नप्रसाद आचार्यलाई पेस गरिएको थियो। तर बकपत्र गर्दा आरोपित भोगेन्द्रलाई नै जोगाउने गरी बकपत्र गरेको भन्दै उनीहरुविरुद्ध पनि मुद्दा चलाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।

यी तीन जनालाइै सजाय छुट दिँदै मुद्दा नचलाई सरकारी साक्षीको रुपमा पेस गरिएको थियो। तर उनीहरुले भोगेन्द्रकै समर्थनमा बकपत्र गरेपछि उनीहरुविरुद्ध मुद्दा चलाइएको हो। उनीहरुमध्ये बद्री र चिरन्जीवीलाई २९ हजार र रत्नलाई ८५ हजार घुस/रिसवत लिएको भन्दै सोही अनुसारको बिगो कायम गर्दै मुद्दा चलाइएको हो।

प्रतिक्रिया दिनुहोस्