सिरानीमुनिका सर्जक



काठमाडौं  । केही समयअघि एक युवा साहित्यकार, समालोचक, अनुवादकको गुनासो सुनियो-‘लेख्न त लेख्नु कि तर प्रकाशकका हातमा परेको सिर्जना नितान्त प्रकाशकको हुनेरहेछ ।’उनले थपे, ‘केही प्रति पुस्तक लेखकका हातमा थमाइदिएपछि आफ्नो दायित्व पूरा भएको ठान्दारहेछन् प्रकाशकले तर त्यसबापत लेखकस्व दिनुपर्छ भन्ने बोध नहुनेरहेछ।’

यस्तै पीडा अर्का लेखकको पनि छ-‘१५ प्रतिशत लेखकस्व दिन्छु भनेर पुस्तक दिएँ, अहिले पुस्तक कति छापियो, कति बेचियो, कति आम्दानी वा घाटा भयो, केही जानकारी छैन ।’ उनले लेखकस्वका नाममा १ कप चियासमेत खान नपाएको बताए ।

१ जना सम्पादकले एउटा प्रकाशकसँग निकै लामो रस्साकस्सीपछि मात्र श्रमको मूल्य उठाएको, त्यो पनि २० हजार रुपैयाँ ‘अनुदान’ वा ‘चन्दा’ प्रकाशकलाई नै दिएर, भन्दै दुखेसो सुनाए, ‘यस्ता हन्तकालहरूले किन प्रकाशन बजारमा हात हाल्नु ? पान पसल वा आलु बेचेर बसे इज्जत लहुन्छ बरु ।’

१ जना स्रष्टा पोखरातिरको एउटा कार्यक्रममा साहित्यकार सरुभक्तले गरेको गुनासो सुनाउँदै थिए, ‘भाइ, मेरा सबै किताब बुक हिलले छाप्छु भन्यो र दिएँ तर अहिले पछुतो लागेको छ– कुनै मतलब छैन लेखकप्रतिको जिम्मेवारीमा उसलाई ।’ सरुभक्तको आशय पनि उही लेखकस्व नपाएको भन्ने नै थियो ।

१ जना वयोवृद्ध साहित्यकारले केही कृति शिखा बुक्सबाट प्रकाशन गराए । बोलीमा निकै चिप्ला र गुलियो भरेर भर्न खप्पिस शिखा बुक्सका प्रोप्राइटर पुष्पराज पौडेलले आफू सिकिस्त बिरामी पर्दासमेत लेखकस्वबापत पाउनुपर्ने मूल्य नपाएको गुनासो थियो उनको । उनी स्वयं कुशल सम्पादसमेत हुन् । उनले कृतिको लेखकस्वका साथै सम्पादनको मूल्यसमेत कबोलअनुसार नपाएका गुनासा पटकपटक सुन्नुपरेको छ ।

लेखक, साहित्यकार, समालोचक, अनुवादक महेश पौड्यालका पीडा समयसमयमा सार्वजनिक सञ्चार माध्यम र चियागफमा सुन्नुपरिरहेकै छ । ‘अब हाम्रो स्तरले यस्ता झिना मसिना कुरामा लडाइँ गर्न सुहाउँदैन, काम लगाउने स्वयंले बुझिदिनुपर्ने हो तर बुझाउनै पर्दोरहेछ’, पौड्यालको आशय छ । यी त केही प्रतिनिधि उदाहरण हुन् । यस्ता लेखक–पीडक प्रकाशक छ्यापछ्याप्ती छन् बजारमा । केही लेखक, साहित्यकारलाई कफी, रक्सी खावाएर कृति हात पार्ने अनि ‘राम्रै’ लेखकस्व दिने बाचा गरेर १ हजार प्रति छापेको भन्दै ३ हजार प्रति छापेर ‘बिक्री नै भएन’, ‘बेच्नै सकिएन’ भन्दै तेस्रो संस्करणसमेत बेचिसकेर पनि लेखकलाई अलमल्याइरहेर आफू महल र कारका मालिक बन्ने प्रकाशकहरू पनि छन् हाम्रा आँखा अगाडि ।

यस्ता प्रकाशकहरूबाट नेपाली भाषा, साहित्यका क्षेत्रमा केही योगदान अवश्य भएको छ– कम्तीमा केही लेखक, स्रष्टाका कृतिरू बजारमा आएका छन् । तर, बिचरा लेखक, स्रष्टाहरू भने आर्थिक शोषणमा परिरहेका छन् एकातिर भने अर्कातिर यस्ता प्रकाशकको ध्यान बजारमा मात्र हुन्छ । बजारमा ध्यान भएको प्रकाशकले बजारिया वा बजारमा बिक्ने वस्तु मात्र खोज्छ र प्रकाशन गर्छ ।

यसो हुँदा सबै वस्तु बजारका लागि बिक्रीयोग्य हुन्छन् वा सबै वस्तु बजारले सहजै खरिद गर्छ भन्ने हुँदैन । यसले गर्दा बजार स्तरीय र कमसल वस्तु छुट्याउने हैसियतमै हुन्छ भन्ने पनि त हुँदैन । र, सबै प्रकाशक स्तरीय वस्तु वा सिर्जना र स्रष्टासम्म पुग्न सक्दैनन् पनि । यस अवस्थामा स्तरीय स्रष्टा गाई–बाख्रा चराउँदै सिर्जना गर्छ र उत्कृष्ट सिर्जनाचाहिँ सिरानीमुनि राख्छ ।

ती सिरानीमुनिका सिर्जना खोज्ने कसले ?

अहिले यस्ता सिरानीमुनिका सिर्जना खोज्ने प्रकाशक चाहिएको छ नेपालमा । राज्यका भाषा, साहित्य सम्बद्ध निकायहरू नेपाल प्रज्ञाप्रतिष्ठान, साझा प्रकाशन त राजनीतिक दलका कार्यकर्ता पाल्ने अखडामा सीमित छन् । यीबाट कुनै अपेक्षा गर्नु हाम्रै कमजोरी हुनेछ । ‘करोडौँको बजेट त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधिका ताई न तुईका थेसिस छाप्दैमा वा आफू र आफ्नो दल निकटका हरितन्नम लेखकका कृति छाप्दैमा सकिन्छ । उत्कृष्ट तर लुकेका प्रतिभा र सिर्जना खोज्ने कसले ?’, एक साहित्यकार एवं समालोचक गुनासो गर्छन् ।

उनका अनुसार यस्ता निकायमा राजनीतिक भागबन्डामा भर्ती गर्नु, विज्ञ, कुशल र दक्षहरूलाई यस्ता निकायमा रहेर का मगर्ने अवसर नदिनुले पनि कुशल सर्जक र स्तरीय सिर्जना न राज्यका निकायका नजरमा वा न त निजी प्रकाशनगृहहरूका आँखामा परेका छन् । उता, निजी प्रकाशनगृहका नियत र हविगत माथि नै उल्लेख भइहाल्यो, बाँकी भनिरहन नै परेन ।

प्रतिक्रिया दिनुहोस्