के छैन मधेसमा ?



काठमाडौं । सन् १९७५ मा प्रकाशित पुस्तक ‘रिजनलिजम एन्ड नेसनल युनिटी इन नेपाल’मा अमेरिकी लेखक फ्रेडरिक एच गेजले लेखेका छन्, ‘तराईको महत्वपुर्ण उत्पादन धान हो ।’ यो पुस्तक सन् १९६० को दशकमा अनुसन्धान गरेर प्रकाशित भएको हो । पुुस्तकमा उल्लेख छ, ‘खाद्यान्न अभाव हुने नेपालका पहाडी भेगमा ठुलो परिमाणमा तराईबाट चामल लगिन्छ । त्यति मात्र होइन, तराईको धान भारतमा समेत ठुलो परिमाणमा निर्यात हुन्छ । सन् १९६५ मा ३ लाख ४८ हजार मेट्रिक टन धान तराईबाट भारत निर्यात भएकोे छ ।’

त्यस वर्ष नेपाल विश्वकै पाँचौँ ठुलो धान निर्यातक देश थियो । र, नेपालले धान निर्यात गरेर २३ करोड ७७ लाख ७२ हजार ६८५ भारतीय रुपैयाँ आर्जन गरेको थियो । तराईबाट निर्यात भएका अन्य वस्तु, खास गरी सनपाट र तेलहनबाट धान जत्तिकै मात्रामा नभए पनि उल्लेखनीय भारतीय मुद्रा भित्रिएको थियो । झन्डै ६ दशकअघि ७ समुद्रपारिका अनुसन्धानकर्ता फ्रेडरिकले देखेको तराई र वर्तमान तराईमा केही भिन्नता र केही समानता छन् । त्यसबेला धान निर्यातमा नेपाल विश्वमै पाँचौँ थियो र त्यो धान तराईले फलाउँथ्यो ।

फ्रेडरिकले आफ्नो पुस्तकमा त्यतिबेला नेपालमा सङ्कलन हुने कृषि र औद्योगिक क्षेत्रको राजस्वको ७६ प्रतिशत तराईबाटै जुट्ने लेखेका छन् । तराईको उर्बरता र सक्षमता यसैबाट दृष्टिगोचर हुन्छ । देशका अन्य भागभन्दा तराई आजको भाषामा समृद्ध थियो र छ । यहाँ समृद्धिका सूचक पनि प्रशस्त छन् । कृषिमा उर्बरता, भाषा–संस्कृतिमा विविधतायुक्त सम्पन्नता, भौगोलिक सुगमताका आधारमा हेर्दा मधेसको गौरवलाई झल्काउँछ ।

मधेस र सीमा जोडिएको भारतमा हिन्दु संस्कृतिसँग सामीप्य छ । यो क्षेत्र धार्मिक पर्यटनका लागि प्रचुरताको खानी हो । मधेस भाषा, संस्कृतिमा सम्पन्न छ । जनकपुर र आसपासमा बोलिने मैथिली नेपालीभन्दा पुरानो भाषा हो । भोजपुरी, अवधी, बज्जिका, थारू, सतारलगायत यहाँका मातृभाषा हुन् । होली, छठ मधेसका मौलिक चाड हुन् । थारू नाच, नेटुवा नाच यहाँ लोकप्रिय छन् । छठमा बनाइने ठेकुवा, पूर्वी मधेसको भक्का, थारू समुदायमा प्रसिद्ध घोँगीजस्ता परिकार यहाँका विशेषता हुन् ।

मधेसमा बोलिने भाषाको कथ्य र लेख्य दुवैको लिखित साहित्य छ । भोजपुरी भाषा विश्वका झन्डै ५० करोड जनसङ्ख्याले बोल्छन् । मैथिली साहित्य र भोजपुरी सङ्गीत विश्वमै गणनामा आउँछन् । मैथिली भाषाको इतिहास नेपालका अन्य भाषाभन्दा निकै पुरानो छ । नेपाल भाषा र बंगला भाषाको उत्पत्तिको आधार–स्तम्भका रूपमा रहेको मैथिली राजा जनकको तिरहुत राज्यदेखि नै प्रचलनमा रहँदै आएको छ । तिरहुतिया लिपिबाटै विकास भएर मिथिलाक्षर बनेको हो । काठमाडांैका भजन मण्डलीहरूमा अझै नेवार जातिले गाउने भजनमा मैथिली शब्द र विद्यापतिको विषय उल्लेख भइरहेको छ ।

मुस्लिम शासकको आक्रमणपछि दक्षिणी क्षेत्रबाट भागेर कर्नाट वंशीय राजा नान्यदेव उत्तरी भारतमा आएपछि उनकै दरबारका कवि विद्यापति (मैथिली भाषाका महाकवि) भए । मैथिली भाषाको इतिहास त्रेतायुगमा भगवान् रामको विवाह तिरहुत राजा जनककी छोरी वैदेही सीतासँग भएको अवस्थादेखि रहिआएको छ ।

मधेसको राजनीतिक चेत

भाषा संस्कृतिमात्र होइन, देशको मुख्य मियो राजनीतिमा पनि मधेस परिवर्तनको सधैँ संवाहक बनेको छ । राणा, राजा फाल्दै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनाको बिगुल पनि मधेसबाट फुकियो । पृथ्वीनारायण शाहकै पालादेखि मधेसको भूमि राजाका कारिन्दाहरूलाई जागिर विर्तामा दिने चलन बसाइएको थियो । सन् १८१५ मा सम्पूर्ण तराईको भूभाग इस्ट इन्डिया कम्पनीलाई सुम्पिइएको थियो । यस बापत राणाहरूले वार्षिक १ लाख रुपैयाँ पाउँथे । तर उक्त कम्पनीले आफूलाई धेरै रकम दिनुपरेको बताएपछि फेरि तराईको भूभाग फिर्ता गरेको थियो ।

राजनीतिमा राणालाई फाल्नेदेखि हालसम्मका आन्दोलनमा मधेसकोे भूमिका अग्रमोर्चामा छ । नेपाली कांग्रेसले २००७ सालको जनक्रान्तिको सुरुआत गर्नुअघि २००५ मा बिहारको दरभंगामा गरेको सम्मेलनको खर्च सप्तरीका जनताले उठाएर दिएका थिए । २००७ मा बैरगनियाँमा भएको कांग्रेसको सम्मेलनले नेपालमा आन्दोलन गर्ने सहमति गर्दा यसबेला प्रमुख सहभागिता पनि मधेसकै नेताहरूको थियो ।

सङ्घीयताको कुरा पनि मधेसबाटै आएको हो । २०४७ सालमा सद्भावना पार्टी गठनलगत्तै सङ्घीयता, नागरिकता र सामाजिक न्यायको कुरा उठेको थियो । २०४२ सालमा पहिलोपटक गणतन्त्रको नारा पनि मधेसमै लागेको थियो । सप्तरीका रामराजाप्रसाद सिंहले पहिलो पटक सङ्घीयताको बहसलाई सहतमा ल्याएका थिए । राजाविरुद्ध बम फालेको आरोपमा जनकपुरका दुर्गानन्द झालाई फाँसी दिइयो ।

महेन्द्रनारायण निधि, डा. वैद्यनाथ झा, रामनारायण मिश्र, रामेश्वरप्रसाद सिंहलगायत कांग्रेसका संस्थापक मधेसकै थिए । सत्ता राजनीति मात्र नभएर अर्थ सामाजिक आयामहरूमा पनि अन्य प्रदेशभन्दा मधेस प्रदेशले बेग्लै पहिचान बनाएको छ । अधिकार उपयोगदेखि स्रोतसाधनको दोहनका सवालमा केन्द्रीय सत्तालाई खबरदारी गरिरहेकै कारण पनि मधेसको अलग छवि निर्माण भएको हो ।

मधेसको शिक्षा

भाषा, कला, उर्वर भूमि, राजनीतिक चेतनालगायत विषयमा समृद्ध मधेस वर्षौंदेखि उर्बर नै रहँदै आएको छ । मिथिला राज्यमा राजा जनकको समयमा शैक्षिक क्षेत्रमा निकै उन्नति भएको थियो । बृहदारण्यक उपनिषद्मा धेरै ठाउँमा राजा जनकको समयका मिथिला शिक्षाको उन्नयन भूमि थियो । त्यसबेलासम्ममा लेखनकलाको पनि विकास भइसकेको हुँदा शैक्षिक जागरण हुनु स्वाभाविकै थियो ।

तत्कालीन विद्वान्हरूमा याज्ञवल्क्यको नाम अग्रपङ्क्तिमा छ । श्वेतकेतु, उद्दालक, आरुणि, सत्यकाम, गार्गी, मैत्रेयी आदि पनि सुप्रसिद्ध थिए । याज्ञवल्क्य शुक्लयजुर्वेदका उद्घोषक मानिन्छन् । यी याज्ञवल्क्यको विद्वताकै कारणले मिथिलाको ख्याति सर्वत्र फैलिएको थियो । अनेकौँ ऋषिहरू मिथिला गएर याज्ञवल्क्यसँग वर्णाश्रम, धर्म र अन्य विविध विषयमा शिक्षा लिने गर्थे । यसरी भएको शैक्षिक विकासले मिथिला परवर्ती वैदिक संस्कृतिकोमहत्वपुर्ण केन्द्र भएको स्पष्ट बुझ्न सकिन्छ ।

स्वयं दुर्योधनले बलरामसँग मिथिलामा गदायुद्धकलाको अभ्यास गरेको प्रसङ्ग महाभारतमा छ । यसबाट पनि मिथिलाको उच्च शैक्षिक अवस्थाको बोध हुन्छ । शिक्षाप्रतिको जागरुकताका कारणले नै मिथिलाबाट तक्षशिलासम्म अध्ययन गर्न जाने चलन पनि थियो । अहिले पनि मधेस शिक्षाको केन्द्रविन्दु नै छ । यहाँका स्कुल र कलेजबाट उत्पादित विद्यार्थीहरू राज्यका उच्च पदमा आसीन छन् । जनमत पार्टीका अध्यक्ष सीके राउत स्वयं वैज्ञानिक हुन् ।

मधेसलाई प्राविधिक शिक्षाको हबका रूपमा पनि विकास भइरहेको छ । मधेसमा ३ वटा विश्वविद्यालयको योजना छ । जनकपुरधाममा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र सप्तरीमा कृषि विश्वविद्यालय स्थापना भइसकेका छन् । वीरगन्जमा विज्ञान तथा प्राविधिक विश्वविद्यालय स्थापना गर्न ऐन पारित भइसकेको छ । प्रदेश सरकारले प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा एउटा प्राविधिक विद्यालय स्थापना गर्ने उद्देश्य पनि लिएको छ ।

मधेसको कृषि

कृषिमा देशैलाई पाल्न सक्ने ठाउँ मधेस हो । १९७८ सालसम्म मधेसले ठुलै परिमाणमा धान भारततर्फ निर्यात गथ्र्यो । मधेसको जमिन समथर मात्र होइन, उर्बर पनि छ । यहाँको उत्पादकत्व बढ्ता छ । अधिकांश जमिनमा ३ बाली लाउन सकिन्छ । सिँचाइका लागि यहाँ सजिलो र कम खर्चिलो छ । यातायातको सुगमता छ । समग्र देशको २४ प्रतिशत भूमि कृषियोग्य छ । मधेस त्यस्तो प्रदेश हो, जहाँको करिब ६९ प्रतिशत भूमि कृषियोग्य छ । सिङ्गो देशलाई हेर्दा ६३ प्रतिशत कृषि भूमिमा चिस्यान वा ओसिलोपन छ । मधेसमा ९४ प्रतिशत कृषि भूमिमा चिस्यान वा ओसिलोपन छ । यी तथ्याङ्क नै मधेसले कृषिबाटै विकासमा फड्को मार्न सक्छ भन्ने बलिया आधार हुन् ।

समथर भूभागका जिल्लालाई समेटेको मधेस कृषिमा उर्बर भूमि हो । वीरगन्ज चिनी कारखाना, कृषि औजार र जनकपुर चुरोट कारखाना जस्ता कृषि उपजमा आधारित उद्योग मधेसमै थिए । हाल ती सबै वर्षौंदेखि बन्द छन् । यस्ता उद्योगको सञ्चालनले कृषिको उत्थानलाई सघाउ पुग्नेमा द्विविधा छैन ।

मधेसको पर्यटन

मधेसको केन्द्र र मधेस प्र्रदेशको राजधानी जनकपुर धर्म र संस्कृतिको धरोहर हो । भारतसित धर्म र संस्कृति मिल्दोजुल्दो भएकाले यसले पर्यटनको सम्भावनालाई प्रचुर मात्रामा बोकेको छ । जनकपुरधाम परापूर्वकालदेखि मैथिली संस्कृतिको केन्द्रका रूपमा परिचित छ । राजा जनक र जानकी अर्थात् सीताको जन्म भएको राज्यको गौरवका रूपमा जनकपुरधामको इतिहास छ ।

वीरगन्ज आसपासका माईस्थान, बिन्दवासिनी, बाराको गढीमाई र सिम्रौनगढलगायत धार्मिक स्थल र पर्सा राष्ट्रिय निकुञ्ज मधेसमै छ । धनुषाको जनकपुरधाम, धनुषाधाम, सिरहाको सलहेश, सप्तरीको छिन्नमस्ता, ठेलिया दह, सर्लाहीको नाढिमन ताल, सतही बिहुला, नारायणपुर, नुनथर, महोत्तरीको पडौलस्थान, रौजा मजारलगायत स्थान मधेसको सौन्दर्य हो । धर्म, संस्कृति, भौगोलिकता, आर्थिक स्रोत–साधन तथा राजनीतिक अनुभवले परिपूर्ण जनकपुरको सम्बन्ध मानव सभ्यताको विकाससँगै जोडिएको छ । मिथिला संस्कृतिको केन्द्र, ऋषिमुनिको तपोभूमि, अष्टावक्र, गार्गी, विद्यापतिलगायतको ज्ञानभूमि तथा आफ्नै भाषा मैथिली र लिपि तिरहुत यहाँका सम्पदा हुन् ।

जनकपुरधामका गंगासागर, धनुषसागर, वीरगन्जको घडीअर्वासहित ११५ वटा धार्मिक तथा सांस्कृतिक महŒव बोकेका पोखरी छन् । यहाँका मठ-मन्दिर र पोखरीसँग भारतीय नागरिकका पनि आस्था जोडिएका छन् । त्यसैले मधेस विश्वभरिका हिन्दु धर्मावलम्बी भित्र्याउन सकिने सम्भावना बोकेको ठाउँ पनि हो ।

‘कनेक्टिभिटी’को सुगमता

समथर भौगोलिक बनावटका कारण मधेसलाई ‘कनेक्टिभिटी’को लाभ छ । पूर्व–पश्चिम राजमार्गले पर्साबाहेक ७ वटै जिल्लालाई छोएको छ । जिल्ला सदमुकामसँग विभिन्न हुलाकी सडक जोडिएका छन् भने प्रदेशका हरेक जिल्ला भारतीय सडकसँग जोडिएका छन् । प्रदेश सरकारले प्रदेश गौरवको योजनाका रूपमा सप्तरीदेखि पर्साको ठोरीसम्म शहीद मार्ग बनाउने गरी सर्वेक्षण थालेको छ । ढल्केबर–जनकपुर–जटही ६ लेन सडक तयार छ । यो सडक भारतको बिहार राजमार्गसँग जोडिएको छ । जनकपुरधाम, बाराको सिमरा र सप्तरीमा विमानस्थल सञ्चालनमा छन् । जनपुर–जयनगर रेल सेवा सुरु छ, जुन भारतीय विशाल रेल सञ्जालसँग जोडिएको छ । भारत र भारतीय मार्ग हुँदै समान आयात–निर्यातका लागि देशकै प्रमुख सुख्खा बन्दरगाह वीरगन्जमा छ ।

मधेसको अग्रता

केन्द्रीय तथ्यांक विभागका अनुसार देशको कुल गार्हस्थ उत्पादनमा मधेस प्रदेशको योगदान १३ प्रतिशत छ । अर्थतन्त्रको औसत आकार ७ दशमलव १ प्रतिशतले विस्तार हुँदा यो प्रदेशको गार्हस्थ उत्पादन वृद्धि ६ दशमलव ५ प्रतिशत रहेको देखिन्छ । औसत निरपेक्ष गरिबी १८ दशमलव ७ प्रतिशतमा झर्दा मधेस प्रदेशका १९ दशमलव ८ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको तथ्याङ्क छ । यो क्रमशः कर्णाली र सुदूरपश्चिमभन्दा सुधारको अवस्थामात्र हो । बहुआयामिक गरिबीमा कर्णालीभन्दा यो प्रदेश थोरै अगाडि छ । बहुआयामिक गरिबी औसत २८ दशमलव ६ प्रतिशत रहँदा मधेस प्रदेशमा ४७ दशमलव ९ प्रतिशत छ ।

मानवीय विकासमा पछि परेको मधेस प्रदेश समृद्धिको मार्गमा अघि बढ्ने प्रयत्नमा छ । प्रदेशको सत्ता नेतृत्व यतिखेर विकास र दिगो समृद्धिका योजनाको तानाबानामा अग्रसर देखिएको छ । आर्थिक र सामाजिक विकासका सवालमा अन्य प्रदेशको तुलनामा पछि परेको मधेस प्रदेश उत्पादनको आपूर्तिको मुहान भएजस्तै सम्भावनाहरूको पनि सङ्गम हो ।
मधेसका आठै जिल्लाको सिमाना भारतसित जोडिएको छ । विश्वकै उदीयमान अर्थतन्त्र र ठुलो बजार सम्भाव्यता समेटेको भारतसँग जोडिएर रहनुको लाभ यो मधेसले लिन सक्छ । छिमेकी लगानीकर्ताले सीमा क्षेत्रका सम्भावनाको उपयोगलाई लगानीको प्राथमिकतामा राखेको देखिन्छ । खुला र भौगोलिक रूपमा सहज हुनुले भारतीय लगानीलाई मधेसले अवसरको रूपमा रूपान्तरण गर्न सहज छ । यसमा उदारवादी सत्ता राजनीतिको आकर्षण उपलब्ध छ ।

भारतले आफ्नो सीमा क्षेत्र लक्षित पूर्वाधार निर्माणमा रुचि देखाएको प्रष्ट छ । वीरगन्जको सुख्खा बन्दरगाहसम्म विस्तार गएिको रेलवे सेवा, वीरगन्ज, विराटनगर, भैरहवा र नेपालगन्जमा एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) यसका प्रमाण हुन् । भारतको सहयोग र सहकार्यमा निर्माण भएका औद्योगिक र व्यापारिक महŒवमा अधिकांश पूर्वाधार मधेसमै बढी केन्द्रित हुनु यो प्रदेशको सम्भाव्यताको अभिवृद्धिमात्र होइन, भारतीय लगानी आकर्षणको आधार पनि हो ।

पूर्वपश्चिम रेलमार्गले सीमाका सम्भावनालाई नै लक्षित गरेको बुझ्न कठिन छैन । यस्ता ठुला लगानीले सीमावर्ती क्षेत्रमा औद्योगिक पूर्वाधारलाई मध्य उद्देश्यमा राखेका छन् । यी पूर्वाधार मधेसमा औद्योगिकीकरणका बलिया आधार हुन् । यस्ता आयाम वीरगन्ज र आसपासका क्षेत्रमा बढी विस्तार भएको छ । सर्लाहीमा निर्माण योजनामा राखिएको औद्योगिक क्षेत्रले औद्योगिक सम्भाव्यतालाई बढाउनेमा आशावादी हुन सकिन्छ ।

उद्योग र व्यापारको केन्द्र मानिएको वीरगन्जको आईसीपी, सुख्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन, निर्माणाधीन रेलमार्ग, व्यापारिक मार्ग, हुलाकीमार्ग, काठमाडौँ–निजगढ द्रुतमार्ग, निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, सिमरा विमानस्थलको स्तरोन्नति जस्ता पूर्वाधारले मधेसको उद्योग र व्यापारको सम्भाव्यतालाई बढाउँछन् ।

प्रतिक्रिया दिनुहोस्