देव गुरुङको प्रश्न : पूर्वराजा ज्ञानेन्द्रसँग कुन मुद्दामा सहकार्य गर्ने ?



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश जोगाउन भन्दै दलहरूलाई राजसंस्थासँग सहकार्य आह्वान गरेकोमा माओवादी केन्द्रका महासचिव देव गुरुङले त्यसलाई औचित्यविहीन भएको टिप्पणी गरेका छन् । प्रेस सेन्टर, कास्कीले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले राजसंस्थाले संविधान, गणतन्त्र नै स्वीकार नगरेकाले सहकार्य हुन नसक्ने बताए ।

‘कुन मुद्दामा सहकार्य गर्ने ? सहकार्य गर्न त लोकतन्त्रको रक्षाका लागि सहकार्य हुनुपर्‍यो । राष्ट्रियताको रक्षाका लागि सहकार्य हुनुपर्‍यो । संविधानको रक्षाका लागि पनि सहकार्य हुनुपर्‍यो,’ महासचिव गुरुङले भने, ‘यी मुद्दामा समान धारणा हुनेबीचमा सहकार्य हुने कुरा हो । त्यसो भएकाले उहाँको वक्तव्य अहिलेको राष्ट्रिय राजनीतिको सन्दर्भमा देशको स्वाधिनताको रक्षाका लागि औचित्यपूर्ण छ भन्ने लाग्दैन ।’

प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहाले शनिबार सन्देश जारी गरेर देश अधोगतिमा जान लागेको भन्दै दल र राजसंस्थाबीच सहकार्यको प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्