राष्ट्रपतिको चुनावमा माओवादीले साथ दिँदैन कि भन्ने कल्पना नै नगर्नुस् : ओली



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिको चुनावमा माओवादी केन्द्रले एमाले उम्मेदवारलाई साथ नदिने कुरा कल्पनाभन्दा बाहिरको भएको बताएका छन्।

एमाले निकट राष्ट्रिय खेलकुद महासंघको अधिवेशन उद्घाटन गर्न आइतबार विराटनगर आइपुगेका ओलीले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपतिको विषयमा माओवादीसँग पहिला नै सहमति भइसकेको बताए।

‘राष्ट्रपतिको चुनावमा माओवादीले साथ दिँदैन कि भन्ने कल्पना नै नगर्नुस्,’ ‌ओलीले भने,‘सबै कुरा पहिला नै फिक्स भइसकेको छ। राष्ट्रिय सहमतिका साथ एमालेका उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छन्।’

कतिपय माओवादी नेताहरूले नै राष्ट्रपति एमालेलाई दिने भन्ने सहमति आफूहरूलाई थाहा नभएको बताइरहेका छन् निरु भन्ने प्रश्नको जवाफमा ओलीले भने- माओवादीका सबै नेतारकार्यकर्तासँग सहमति गर्ने हो र!

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा सन्देशमा दिँदै दल र राजसंस्थाबीच सहकार्यको प्रस्ताव गरेको प्रसंगमा ओलीले त्यस्तो प्रस्तावको कुनै अर्थ नभएको बताए। ‘ज्ञानेन्द्र शाह आफैं अलमलमा हुनुहुन्छ। त्यस्तो प्रस्तावको कुनै अर्थ छैन,’ ओलीले भने।

प्रतिक्रिया दिनुहोस्