सडकमा फोहोर फाल्ने एनआईसी एसिया बैंकलाई ११ हजार जरिवाना



वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सडकमा जथाभावी फोहोर फालेको भन्दै एक बैंकलाई ११ हजार रुपैयाँ जरिवाना तिराएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित एनआईसी एसिया बैंक वीरगञ्ज शाखालाई महानगरपालिकाले ११ हजार रुपैयाँ जरिवाना गरेको हो ।

सडक तथा फुटपाथमा जथाभावी फोहोर फाल्नेहरुलाई तिराइएको जरिवानामध्ये यो नै अहिलेसम्मको उच्च भएको वीरगञ्ज महानगरपालिका सरसफाई शाखाका सहायक प्रमुख सर्फुदिन मियाँले बताए । यसअघि महानगरले सडकमा फोहोर फाल्नेहरुलाई कम्तिमा ५ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना गर्दै आएको थियो ।

पहिलोपटक सडकमा फोहोर फालेको भेटिएपछि चेतावनी मात्रै दिएर छोडेको महानगरले दोस्रो पटक ५ हजार रुपैयाँ जरिवाना गरेको थियो भने अहिले तेस्रो पटक ११ हजार जरिवाना गरिएको सरसफाई अधिकृत मियाँले बताए ।

बैंक जस्तो जिम्मेवार संस्थाबाट यसरी पटकपटक फोहोर गर्नु कानुन र मर्यादाको विपरीत भएकोले अब उप्रान्त फेरि सडकमा फोहोर फ्याकिएको भेटिएमा २५ हजार देखि २ लाख रुपैयाँ सम्मको जरिवाना गरिने मियाँले बताए ।

 

प्रतिक्रिया दिनुहोस्