लुम्बिनी सरकारमा जसपा पनि सहभागी, नयाँ मन्त्रीको शपथ आज



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको छ। जसपा भण्डारी लाल अहिरको नेतृत्वमा लुम्बिनी सरकारमा सहभागी भएको हो। मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद् विस्तार गर्दै जसपा संसदीय दलका नेता भण्डारी लाल अहिरलाई मन्त्री नियुक्त गरेका हुन्। भण्डारीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसअघि उक्त मन्त्रालयको जिम्मेवारी पाएका एमालेका तुलसीराम शर्माले भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने नयाँ जिम्मेवारी पाएका छन्। नवनियुक्त मन्त्री अहिरले आज बिहान ११ बजे बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।

नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले जिम्मेवारी हेरफेर र नियुक्ति गरी आइतबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्। लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्