जसपाको विधान अधिवेशन आगामी चैतमा हुने



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो विधान अधिवेशन आगामी चैतमा गर्ने भएको छ। बालकुमारीस्थित पार्टी कार्यालयमा आइतबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन चैतको २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको हो।

पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीकरण लगायतको विषयमा छलफल गर्न जसपाले आफ्नो कार्यकारिणी समितिको बैठक बसाएको हो। उक्त बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठन भएको विधान संशोधन मस्यौदा समितिले आफ्नो काम गरिरहेको र उक्त समितिले अधिवेशनअघि प्रतिवेदन तयार गर्ने कार्यकारिणी सदस्य रामसहाय यादवले जानकारी दिए।

यसैगरी फागुन २५ गते हुने राष्ट्रपतिको चुनावको विषयमा पनि बैठकमा छलफल भइरहेको छ। जनता समाजवादी पार्टी नेपाल पनि राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनोस् भने पक्षमा रहेकोछ। बैठकमा राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिको आधारमा हुनुपर्ने र सोही लाइनमा जसपा पनि जाने कुरामा छलफल भएको दलका नेताहरुको भनाइ छ।

बैठकमा गत प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा पार्टीभित्र भएको अन्तर्घातको विषयमा भइरहेको छानविन प्रतिवेदन चाँडै पेस गर्नुपर्ने विषयमा पनि छलफल भएको छ । जसपाले नेकपा (एकीकृत समाजवादी) पार्टी लगायत अन्य दलहरुसँग पनि पार्टी एकीकरणका लागि छलफल गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्