सुदूरपश्चिमका मुख्यमन्त्रीको दाबी- मेरो नेतृत्वमा सुदूरपश्चिम सरकार पाँच वर्ष चल्छ



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वमा रहेको वर्तमान सरकार नै आगामी पाँच वर्षसम्म चल्ने दाबी गरेका छन्। सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो नेतृत्वमा रहेको सरकार पुरै कार्यकाल चल्ने दाबी गरेका हुन्।

प्रदेश सभा बैठकबाट विश्वासको मत कहिले लिने तयारी छ भन्ने प्रश्नमा उनले विश्वासको मतका लागि राजनीतिक दलहरु सकरात्मक भएको र केही दिनमा विश्वासको मत लिने बताए। ‘एक्लै कुनै दलसँग पनि बहुमत छैन। यो सरकार ५ वर्ष टिक्नुपर्छ भनेर हामीले दलहरूसँग पनि छलफल गरिरहेका छौं,’ उनले भने, ‘सुदूरपश्चिममा मध्यावधि चुनाव हुँदैन, यही सरकार पाँच वर्ष चल्छ।’ उनले मन्त्रिपरिषदमा अहिले ३ जना रहेको र बाँकी मन्त्री छिट्टै नियुक्त गर्नेबारे छलफल भइरहेको पनि बताए। ‘प्रदेश सरकारलाई छिट्टै पूर्णता दिने हो,’ उनले भने।

यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि उक्त सरकार ढलेर नेपाली कांग्रेसका संसदीय दल नेता शाहको नेतृत्वमा नयाँ सरकार बनेको थियो। उनी मुख्यमन्त्री बनेको ११ दिन भइसकेको छ। ३० दिनभित्र प्रदेश सभा बैठकबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

७ सांसद भएको नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने वा नदिनेबारे प्रष्टाइसकेको छैन। जेलमा रहेका रेशम चौधरीलगायत नेताहरूलाई रिहाइ गरिनुपर्ने अडान नागरिक उन्मुक्तिको छ। मुख्यमन्त्री शाहले माओवादी केन्द्रलगायत दलसँग पनि छलफल अघि बढाएका छन्।

५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन बहुमत २७ सांसद आवश्यक पर्छ। नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर उनीसँग अहिले २३ सांसद छन्। उनीहरूलाई सरकार टिकाइराख्न नागरिक उन्मुक्ति वा माओवादीले समर्थन गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्