लघुवित्तको पासो, हरायो हाँसो



काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा चिया–खाजा पसल गर्दै आएकी दीपा थापालाई अहिले ‘मर्नु न बाँच्नु’ भएको छ। थोरै लगानीमा सानो उद्यमबाट जीविका चलाउन भनेर एउटा लघुवित्तबाट उनले ३ वर्षअघि २५ हजार रुपैयाँ लिइन्। बाँकी अरआफन्तसँग खोजखाज गरेर चिया–खाजा पसल सुरु गरिन्।

उनलाई लाग्यो– अझ थोरै लगानी थप्न पाए केही आम्दानी बढ्थ्यो कि !फेरि अर्को लघुवित्तबाट १ लाख रुपैयाँ ऋण लिइन् र पसललाई अलिक व्यवस्थित बनाइन्। उनी थप उत्साहित बनिन्। लघुवित्तका कर्जाका सीमाका कारण उनले पहिलाकै संस्थाबाट नभई अर्को लघुवित्तबाट फेरि १ लाख रुपैयाँ कर्जा लिइन्। त्यहीबेला कोरोनाको महामारीले विश्व नै आक्रान्त बन्यो। नेपाल त्यसबाट अछूत रहेन। व्यापार, व्यवसाय सबै चौपट !

दीपाको ४ जनाको परिवार गाउँ सङ्खुवासभा जाने कि यतै सङ्घर्ष गर्ने भन्ने दोधारमा पर्‍यो। अन्ततः यतै समस्यासँग जुधिरह्यो उनको परिवार। तर, आपत्– ३ वटा लघुवित्तबाट लिएको कर्जा कसरी तिर्ने? किस्तासमेत बुझाउन नसक्ने अवस्था आयो । २ जना साना सन्तानले काम गर्ने कुरै भएन, स्कुल पढ्दै छन् । श्रीमान् शारीरिक रूपमा अस्वस्थ, धेरै र भारी काम गर्ने अवस्था छैन ।

‘हामी साँच्चै बिचल्लीमा पर्‍यौँ’, दीपा भन्छिन्, ‘केही होला भनेर ऋण लिएर व्यवसाय गरियो, कोरानाले सखाप त पारेकै थियो, लघुवित्तको ताकेता र दबाबले मर्नु न बाँच्नु बनायो।’ दीपा जस्ता धेरै निम्नवर्गीय परिवार अहिले आर्थिक र मानसिक तनाव र दबाबमा छन्। २०५६ सालपछि निम्न र निम्नमध्यम वर्गका जनताको आर्थिक उन्नतिका लागि भनेर ल्याइएको लघुवित्त आज तिनै लक्षित वर्गका लागि पासो बनेको छ।

बंगलादेशमा मोहम्मद युनुसले सुरु गरेर सफलता पाएको लघुवित्तको अवधारणालाई नेपालमा पनि लागू गर्न नेपाल राष्ट्र बैंक उत्साही बन्यो त्यसबेला । तर, लघुवित्तबारे, वित्तीय साक्षरताबारे कुनै अध्ययन र प्रशिक्षण नगरी हतारमा सुरु गरिएको यस कार्यक्रमले अन्ततः आमनागरिक झनै पीडित बनेका छन्। ‘सीमित सङ्ख्यामा, राम्ररी अध्ययन गरेर, लक्षित वर्गलाई यसबाट लाभका बाटा देखाएर मात्र कर्जा लगानी गर्नुपर्नेमा त्यसो भएन’, एक जना पूर्वबैंकर भन्छन्, ‘खर्च गर्ने ठाउँ र आमदानीका उपाय नदेखाई ऋण दिनु नै गल्ती हो।’

अर्कातर्फ १ भन्दा बढी लघुवित्तबाट एउटै व्यक्तिलाई ऋण दिइनु पनि गलत भएको उनी बताउँछन्। उनका अनुसार उसै त निम्न आय भएकाहरूका लागि लगानी गर्ने हो, त्यसमाथि अरू लघुवित्तबाट समेत आफ्नो आमदानीको हैसियतभन्दा बढी कर्जा लिइसकेकालाई थप भार बोकाएपछि कसरी हुन्छ ? लघुवित्तहरूको ध्येय व्यापारिक बढी भएकाले पनि समस्या सिर्जना भएको यस क्षेत्रका जानकारहरूको बुझाइ छ । बढी ब्याज लिन धेरैतिर लगानी गर्ने, ऋणीको हैसियत नबुझी आँखा चिम्लेर ब्याजको लोभमा ऋण दिने गर्नाले पनि अधिकांश लघुवित्त र सहकारीहरू डुब्ने अवस्थामा रहेका र ऋणीहरू तनावमा रहेका लघुवित्त क्षेत्रका जानकारहरूको मत छ ।

एक जना पूर्वबैंकरका अनुसार नेपाल राष्ट्र बैंकले आवश्यकताभन्दा बढी लघुवित्तहरूलाई अनुमति दिएको छ । झण्डै ९० वटा लघुवित्तले विगतमा अनुमति पाएकामा अहिले ६६ वटा सञ्चालनमा छन्। यीमध्ये कतिपयले देशभर शाखा खोलेर काम गर्दै आएका पनि छन्। ‘कुनै एउटा निश्चित भूगोलमा गतिलो काम गर्न नसकेका लघुवित्तहरू देशभर शाखा खोल्न हतार गर्छन्’, एक जना लघुवित्त क्षेत्रका जानकारको भनाइ छ, ‘हतारमा ब्याजको लोभले खोलिने शाखा र गरिने लगानी आफैँमा जोखिमपूर्ण हो।’

अहिले बजारमा तरलता अभाव छ । बैंक तथा वित्तीय संस्थाहरूमा चल्ने पैसा छैन । घर–जग्गा कारोबार ठप्पप्रायः छ। बैंक र वित्तीय संस्थाहरूदले गरेको लगानीको नियमति ब्याज र किस्तासमेत तिर्न सक्ने अवस्थामा छैनन् ऋणीहरू । ‘यस्तो बेला लघुवित्तहरूले ऋणीलाई ताकेता गरेर, धम्क्याएर पैसा कसरी उठ्छ ?’, अर्का लघुवित्तका जानकारको प्रश्न छ।

लघुवित्तबाट समस्यामा पर्नेहरूमा साहुहरूसँग ऋण लिएका, ऋणलाई उपभोगमा खर्च गर्ने र व्यवसाय फस्टाउन नसक्दा समस्यामा परेका गरी ३ प्रकारका रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताउँदै आएका छन् । गाउँका साहु–महाजन पनि जोडिएका ठाउँमा बढी समस्या देखिएको उनको भनाइ छ। शेयर बजारका खेलाडीले लघुवित्त र सहकारीबाट आफ्ना र आफन्तका नाममा पैसा निकालेर लगानी गर्ने गरेका खबरहरू पनि बाहिरिएका छन् । यसले पनि यी क्षेत्रमा विकृति आएको र समस्या बढेको नेपाल राष्ट्र बैंकका एक उच्चअधिकारीको भनाइ छ।

यसलाई सुधार गर्न कम्पनी ऐनमा दर्ता गर्ने, अहिलेको मोडालिटी परिवर्तन गर्ने, लाभांशमा बन्देज लगाउनेजस्ता विषय उठिरहेका छन् । तर, यसको निर्णय गर्ने वा विकृति रोकथामका लागि नीति, निर्देशन जारी गर्ने निकाय स्वयं नेपाल राष्ट्र बैंक हो। नेपाल राष्ट्र बैंकले सकेसम्म एउटा मात्र र त्यो सम्भव नभए २ वा ३ वटाभन्दा बढी संस्थामा संलग्न हुन नपाउने निर्देशक जारी गर्ने प्रक्रियामा रहेको नेपाल राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ।

एउटा लघुवित्तले ऋणीसँग १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने प्रावधान छ तर ‘सेवा शुल्क’का नाममा लघुवित्त संस्थाले ऋणीबाट रकम लिने गरेका छन् । नेपाल राष्ट्र बैंकले यसरी लिइएको सेवा शुल्क फिर्ता गराउने प्रक्रिया सुरु भइसकेको जनाएको छ । उसो त, लघुवित्तबाट पीडित भनिएका ऋणीहरूको ऋण नै मिनाह वा ब्याजमा कमी अथवा ब्याज मिनाहका लागिसमेत आवाज उठिरहेको छ।

‘यस्तो आवाज उठ्नु स्वाभाविक हो तर यति ठूलो लगानी मिनाह गर्ने भन्ने हुँदैन’, एक पूर्वबैंकरको भनाइ छ, ‘ऋण, ब्याज बुझाउन नसक्ने अवस्थाका ऋणीका लागि कुनै न कुनै सहुलियतका उपाय भने गर्न सक्छ सरकारले।’

लघुवित्त र कर्जा प्रक्रिया 

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाई उनीहरूबाट नियमित बचत सङ्कलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न बिनाधितो लघु कर्जा प्रवाह गर्ने वित्तीय संस्था हो लघुवित्त। आफ्ना सदस्य वा अन्य व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने र सीमित मात्रामा सदस्यहरूको बचत सङ्कलन गर्ने काम लघुवित्त वित्तीय संस्थाले गर्छ।

लघुवित्त वित्तीय संस्थाहरूलाई कर्जा कारोबारका आधारमा थोक कर्जाको मात्र कारोबार गर्ने र खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्था गरी २ प्रकारमा वर्गीकरण गरिएको छ। खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरूले मात्र विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाई कर्जा प्रवाह गर्छन्।

‘घ’ वर्गको बैंकका रूपमा लिइने लघुवित्तले गाउँघरमा एउटा समूह बनाएको हुन्छ, त्यसमार्फत ऋण लिन मात्र नभएर बचत पनि गर्न सकिन्छ। लघुवित्तले समूहको बचतमार्फत उठेको पैसाले नै ऋणीलाई ऋण उपलब्ध गराउँछ। नपुग ऋण लघुवित्तले उपलब्ध गराउँछ। त्यस समूहमा बसेका सदस्यहरूलाई कम ब्याजमा ऋण उपलब्ध हुन्छ भने समूहमा नबसेको व्यक्ति वा संस्थालाई केही बढी ब्याज दर कायम गरेको हुन्छ।

ऋण प्राप्त गर्नका लागि समूहको बैठक बसेर लघुवित्तले समूहको जिम्मेवारीमा ७ लाख रुपैयाँसम्म बिनाधितो लगानी गर्दै आएको छ। यस्तो रकम प्राप्त गर्नका लागि आफूले लगानी गर्ने क्षेत्रका बारेमा स्पष्ट खुलाउनुपर्ने हुन्छ । कुन क्षेत्रका लागि पैसा चाहिएको हो, सोका आधारमा लघुवित्तले पैसा उपलब्ध गराउँछ।

प्रतिक्रिया दिनुहोस्