मधेसको बुहारीमैत्री विद्यालय



  • विशाल बस्नेत

महोत्तरी । धनुषाको तुलसीबाट महोत्तरीको चौलिखामा विवाह गरेर आउँदा सीता परियारलाई पढ्न नपाइएला भन्ने चिन्ता थियो। सँगैका सङ्गीहरूले विवाहपछि पढाइलाई निरन्तरता दिन नपाएको देखेकी १९ वर्षीया परियारमा यो चिन्ता स्वाभाविक पनि थियो । घरबाट विद्यालय जाने अनुमति पाए पनि सहपाठीहरूले गिज्याउने, होच्याउने चिन्ताले परियारलाई झन पिरोलिरह्यो । श्रीमान् र घरपरिवारको साथ पाएर जब उनी विद्यालय पुगिन्, तब उनीभित्रका असजिलो र हीनताबोध क्षणभरमै सकियो ।

चौलिखास्थित जनहित नन्दलाल माध्यमिक विद्यालयमा पुग्दा वातावरण नै उल्लासमय थियो, उनी जस्तै आधा दर्जन बुहारीहरू पढिरहेका थाहा पाएपछि परियार थप उत्साहित बनिन् । ‘पढ्न नपाइने चिन्ता सकिएपछि विद्यालय जान असजिलो लागिरहेको थियो’, परियार भन्छिन्, ‘विद्यालय पुगेपछि म जस्तै थुप्रै बुहारीहरू कक्षामा देखेपछि म उत्साही भएँ।’ कक्षा– १० को परीक्षा दिएर विवाह गरेकी परियारले पहिला त घरपरिवारले बुहारीलाई पनि पढाउनुपर्छ भन्ने रूपान्तरित सोच विद्यालय पुगेपछि जनहित नन्दलाल विद्यालयले नै गरेको रहेछ भन्नेमा ढुक्क भइन्।

‘विद्यालयका प्रधानध्यापक कुमार घिमिरे र व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व नगर प्रमुख विदुर कार्कीले बनाइदिएकोे वातावरण वास्तवमै म जस्ता बुहारी मात्र पढाउन पो बनाएको हो कि जस्तो लाग्थ्यो’, उनी भन्छिन्। ग्रामीण वस्तीमा रहेको यस विद्यालयमा शिक्षक, प्रधानाध्यापक र व्यवस्थापन समितिको निकै मिहिनेतपछि बुहारीमैत्री मात्र बनेको छैन, प्राविधिक धारका कक्षा सञ्चालनले विभिन्न जिल्लाबाट अध्ययन गर्न आउनेहरूको उपयुक्त गन्तव्यस्थलसमेत बनेको छ।

कक्षा– ११ मा अध्ययनरत महतोको विद्यालय अनुभव भने परियारको भन्दा अलिक फरक छ। १९ वर्षकै उमेरमा विवाह गरेकी महतोको भनेजस्तो वातावरण थिएन। सामान्य कृषि पेसा गर्ने उनका श्रीमान्ले विवाह गर्नुभन्दा अगाडि पढाउँछु त भनेका थिए तर अन्य परिवारका सदस्यहरूको अनुमति रहला कि नरहला भन्ने महतोलाई ठूलो चिन्ता थियो। मधेसको संस्कृतिमा छोरीलाई कम पढाउने र छोरालाई पढाउने समस्या अझै पनि छ।

विवाह गरेर पढ्न त परैको कुरा, भनेजस्तो दाइजो नल्याए परिवारबाट घरेलु हिंसाको सिकार बन्नुपर्ने बाध्यता मधेसका महिलाको समस्या हो। विवाह गरेपछि उनले पनि विद्यालय जान पाइन् । र, परियाकै जस्तो उत्साह उनमा पनि पलायो। शिक्षक, प्रधानाध्यापक र व्यवस्थापन समितिबीच साझा सहमति हुने हो भने जुनसुकै विद्यालय पनि जनहित नन्दलाल माध्यमिक जस्तो बुहारीमैत्री बन्न सक्ने महतोको बुझाइ छ। उनी बिहानभर घरको काम गर्छिन् । खाना पकाउँछिन्, कपडा धुन्छिन्, परिवारलाई खाना खुवाउँछिन् र विद्यालय पुग्छिन् ।

महतोमाथि बुहारीको भूमिका एकातिर छ भने पढेर केही गर्ने हुट्हुटी अर्कातिर । महतो र परियार जस्ता बुहारी विद्यालय गएर पढ्न थालेपछि गाउँलेको सोच पनि परिवर्तन भएको छ। बुहारीलाइ गर्ने व्यवहार फेरिएको मात्र छैन, उनीहरू सामाजिक उत्प्रेणाको आदर्श पात्र पनि बन्दै छन्। परियार र महतोसँगै अन्य ४ जना बुहारी पनि विद्यालयमा पढ्न पाएपछि मख्ख छन् । मधेसी समुदायका बुहारीहरू सन्ध्या साह, पिङ्की यादव, सपना स्याङ्वा पनि यसै विद्यालयमा पढ्ने गर्छन् ।

‘मधेसको ग्रामीण दूर दराजमा रहेको यो विद्यालय सामाजिक रूपान्तरणको एउटा माध्यम बनाउन सक्दा हामी निकै हर्षित छौँ’, प्रधानाध्यापक कुमार घिमिरेले भने, ‘रूपान्तरणको महŒवपूर्ण अङ्ग नै शिक्षालय हो।’ अझ अचम्म लाग्दो त कहाँनिर छ भने, विद्यालयले कुसंस्कारमा जकडिएको समाजमा आधुनिक संस्कारको विकास मात्र होइन, ग्रामीण भेगमा परिवर्तनको मौन विद्रोहसमेत गरिरहेको छ ।
यसको परिणाम स्वरूप महतो जस्ता बुहारीहरूले धक फुकाएर पढ्न पाएका छन्।

अँध्यारो वस्तीमा उज्यालो सञ्चार गराइरहेको यो विद्यालय आफैँमा प्रेरक किन पनि हो भने, यहाँ ‘सिक र कमाऊ’ अवधारणाअन्तर्गत विभिन्न प्राविधिक धारका कक्षाहरू समेत सञ्चालनमा छन् ।
डिप्लोमा इन इन्जिनियरिङ, सिभिल सर्वे जस्ता कक्षाहरूको माध्यमबाट अध्ययनरत विद्यार्थीहरूले भविष्य निर्माणको महŒवपूर्ण हतियार मात्र बनाएका छैनन्, पढदै, कमाउने अवसर पनि प्राप्त गरिरहेका छन् ।

अहिले यस विद्यालयलाई नेपालका १५ वटा जिल्लाका विद्यार्थीहरूले उपयुक्त गन्तव्य बनाएका छन्। बर्दिबासस्थित यस भित्री वस्तीमा को गएर पढ्छन र ? भन्ने प्रश्न पनि आउन सक्छ तर विद्यार्थीहरूको यही विद्यालय रोजाइ बन्दा स्थानीयहरूको आर्थिक उपार्जनको गतिलो माध्यमसमेत बनेको छ। विद्यार्थीहरू कोठा लिएर बस्ने र खानाका लागिसमेत स्थानीय बजार प्रयोग गर्ने भएकाले ब्यापार, व्यवसायसमेत फस्टाएको स्थानीय बताउँछन्।

बुहारी पढाएर आत्मनिर्भर बनाउने विद्यालय मात्र होइन, सामाजिक रूपान्तरणको सम्वाहक बन्दै गएको विद्यालयलाई देशकै नमुना बनाउने गृहकार्य गरिरहेको व्यवस्थापन समितिका अध्यक्ष विदुर कार्की बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्