राष्ट्रपतिका लागि दौडधुप : कोही बालुवाटार, कोही बालकोट



काठमाडौं । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै नेताहरूको दौडधुप पनि बाक्लिएको छ। अबको ३ दिनभित्र अर्थात् १३ फागुनमा राष्ट्रपतिको मनोनयन हुँदै छ। तर, अहिलेसम्म पनि अबको राष्ट्रपतिको उम्मेदवार यो हो भनेर कुनै पार्टीले भन्न सकेका छैनन्। राष्ट्रपतिमा राष्ट्रिय सहमतिको विषय उठिरहेका कारण पनि अहिले राष्ट्रपतिका लागि कुनै दलले आफ्नो उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन्।

नेपाली कांग्रेस र नेकपा एमाले राष्ट्रपतिका मुख्य दाबेदार दल हुन् । तर, जुन दलले उम्मेदवार खडा गरे पनि त्यस्तो उम्मेदवार सबैलाई मान्य हुनुपर्ने अहिलेको राजनीतिक परिदृश्यले देखाएको छ। एमाले र कांग्रेसमध्ये जसको उम्मेदवार भए पनि नेकपा (माओवादी केन्द्र) नै राष्ट्रपति चयनका लागि निर्णायक रहेको छ। माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने राष्ट्रिय सहमतिको बटमलाइनबाट टसमस भएका छैनन् ।

यसले गर्दा एमाले भने गठबन्धन निर्माण हुँदा भएको सहमतिको चेपुवामा परेको छ। माओवादी एमालेकै उम्मेदवारलाई राष्ट्रपति बनाउन तयार भए पनि सबैलाई मान्य हुने व्यक्ति एमालेले चयन गर्नुपर्ने माओवादीको अडान छ। एमाले अहिले त्यस्तो व्यक्तिको खोजी गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसम्म आइपुगेको छ। तर, त्यसका लागि पार्टी एकीकरण हुनुपर्ने एमालेको शर्त छ।

राष्ट्रपतिकै लागि मङ्गलबार नेताहरूको बाक्लै दौडधुप देखियो। लोकतान्त्रिक समावजादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरू प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए भने एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न नेकपा एसका नेता किसान श्रेष्ठ बालकोटमै पुगेका थिए।

लोसपाको दौडधुप

राष्ट्रपतिका लागि आफ्नो नाममा राष्ट्रिय सहमति खोज्न भन्दै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रचण्डलाई भेट्न बालुवाटार नै पुगे । ठाकुरको नाममा सहमति जुटाउने प्रस्ताव राख्न ठाकुरसहित लोसपाका शीर्ष नेताहरूले बालुुवाटारमै पुगेर प्रचण्डलाई आग्रह गरेका हुन् ।

त्यस्तै, मङ्गलबार नै लोसपाले एमाले अध्यक्ष ओलीसँग पनि यही प्रस्ताव लिएर भेट गरेको थियो । ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन लोसपा अहिले लागिपरेको छ ।
प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन राखेको प्रस्तावमा प्रचण्डले सकारात्मक रूपमा लिँदै आफ्नातर्फबाट पहल गर्ने बचन दिएको बालुवाटार स्रोतले जनाएको छ।

ओली भेट्न किसान पुगे बालकोट

सबै दलहरूको ध्यान राष्ट्रपति निर्वाचनमै रहेका बेला नेकपा एसका नेता किसान श्रेष्ठ मङ्गलबार ओलीलाई भेट्न बालकोट पुगेका थिए। राष्ट्रपतिमा माधव नेपालको उम्मेदवारी तथा २ पार्टीबीचको एकताबारे भेटमा छलफल भएको थियो । सोमबार ओली र नेपालबीच भएको भेटमा पार्टी एकताको विषय पनि उठेको थियो । त्यसै विषयमा मङ्गलबार श्रेष्ठ र ओलीबीच थप छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्