एआईजी बढुवाको सङ्घारमा उमेर विवाद



काठमाडौं । नेपालमा प्रहरीमा अहिले ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी खाली छ । फागुन महिनाभित्र ती रिक्त पद पूर्ति गर्ने तयारी प्रहरी मुख्यालयले गरेको छ। रिक्त ५ दरबन्दीका लागि १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) दौडमा छन् । तर, एआईजीको पद पूर्ति गर्ने तयारी भइरहँदा त्यसको दौडमा रहेका ७ जना डीआईजी भने उमेर विवादमा तानिएका छन्।

डीआईजीहरू नलप्रसाद उपाध्याय, मसउद आलम खाँ, अशोक सिंह, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, भीमप्रसाद ढकाल र किरण राणा आफ्नो जन्ममितिको विषयमा विवादित बनेका छन्, जसमा नलप्रसाद उपाध्यायको ६ महिना १४ दिन जन्ममिति फरक परेको पाइएको छ भने मसउद आलम खाँको ५ महिना १ दिन, अशोक सिंहको १ वर्ष ६ महिना २४ दिन फरक पाइएको छ। त्यसैगरी

श्यामलाल ज्ञवालीको ५ महिना ५ दिन, किरण बज्राचार्यको २९ दिन, भीमप्रसाद ढकालको १ वर्ष र किरण राणाको १ दिन जन्ममिति फरक परेको पाइएको छ। जन्ममितिको विवादमा यी ७ जना एआईजीसँगै एआईजी दिवेश लोहनी पनि तानिएका छन् । लोहनीको जन्ममिति ६ महिना २६ दिन फरक परेको छ।

कसरी आयो उमेरको विवाद ?

नेपाल प्रहरीको सेवा अवधि ३० वर्ष तोकिएको छ । यदि यो व्यवस्था कायमै रहे अहिलेका महानिरीक्षक धीरजप्रताप सिंहले आगामी ११ चैतदेखि अनिवार्य अवकाश पाउनेछन्। उनको अवकाशपछि एआईजीमा बढुवा भएकामध्येबाटै महानिरीक्षक बन्नेछन् । यस हिसाबमा पनि प्रहरीको नेतृत्वमा धेरैको आँखा पर्ने देखिन्छ। अहिलेका एआईजीहरू अनिवार्य अवकाशमा जाँदै छन् । बाँकी ५ एआईजीका लागि १७ जना डीआईजी दौडमा छन्।

अब एआईजीमा बढुवा हुने ५ जनामध्येबाटै प्रहरीको भावी नेतृत्व टुङ्गो लाग्नेछ । बढुवा भएकामा पनि शीर्ष ३ भित्र परेकालाई नै नेतृत्व हस्तान्तरण गरिनेछ। भावी महानिरीक्षकका रूपमा हेरिएका डीआईजी अशोक सिंह उमेर विवादमा तानिएकाले उनको सम्भावना देखिँदैन । उनको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

यसबारे जिज्ञासा राख्दा नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी पोषराज पोखरेलले अनुसन्धान जारी रहेको विषयमा कुनै ठोस प्रमाण नआएसम्म बोल्न नमिल्ने बताए। उनी पनि उमेर विवादमा तानिएका डीआईजीमध्येका एक हुन् । तर, पोखरेल त्यसमा कुनै तथ्य नरहेको ठोकुवा गर्छन् । ‘एआईजीको बढुवा हुनै लाग्दा त्यसमा रोक्नका लागि यो जालझेलयुक्त प्रपञ्च हो’, उनले भने ‘यही महिनाभित्र एआईजी बढुवा टुङ्गो लाग्नेछ अब त्यसमा कस–कसको के स्वार्थछ, त्यो म जान्दिनँ ।’

पोखरेल एआईजीका प्रत्यासी हुन्। विवादमा तानिएका एआईजीका अर्का प्रत्यासी भीमप्रसाद ढकाल पनि यस विषयमा कसैको स्वार्थ रहेको बताउँछन्। ‘म पनि अबको एआईजीका लागि लाइनमा रहेको व्यक्ति हुँ । अहिलेसम्म मेरो रेकर्डमा कुनै दाग लागेको छैन । नागरिकता पनि मैले गोजीमै बोकेर हिँडेको छु, सबै रेकर्डमा मेरो जन्ममिति एउटै छ’, ढकालले भने, ‘५ एआईजीमा १७ जनाको प्रतिस्पर्धा हुँदै छ, अब यसका कसको स्वार्थ बाझियो, त्यो बुझ्ने विषय हो।’

पोखरेल र ढकालको भनाइअनुसार यस विवादमा प्रहरीभित्रकै उच्च अधिकारीको हात रहेको देखिन्छ । प्रहरीका बारेमा बाहिरका व्यक्तिको पहुँच नहुने भएकाले पनि यसमा भित्रकै मान्छेको हात रहेको हुन सक्ने प्रहरी प्रधान कार्यालयले बताएको छ । यस विषयमा पनि प्रहरी कार्यालयले अनुसन्धान गर्ने प्रवक्ता पोखरेलले द नेपालटप दैनिकलाई जानकारी दिए ।

प्रहरी नियमावलीले के भन्छ ?

अनिवार्य अवकाशको व्यवस्थाका लागि प्रहरी नियमावलीको नियम १२७ ले प्रष्ट पारेको छ । उक्त नियमावलीको नियम १२७(२)को खण्ड (क)मा ‘सेवामा प्रवेश गर्दा निजले पेस गरेको नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र वैयक्तिक विवरणमा जन्ममिति वर्ष, महिना र गतेसमेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा जुन मितिबाट पहिले अवकाश हुन्छ सोही मितिको आधारमा’ भन्ने विषयलाई व्याख्या गरेको छ।

सिटरोल, शैक्षिक प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा फरकफरक जन्ममिति उल्लेख भए जुन मिति पहिला हुन्छ, त्यसैलाई आधार मानेर अवकाश दिने प्रावधान छ। विवादित जन्ममिति बाझिएमा ७ जना डीआईजीहरू स्वतः महानिरीक्षकको दौडबाट बाहिरिनेछन् ।

डीआईजी सिंहबाट सुरु भएको थियो विवाद 

नेपाल प्रहरीका वरिष्ठ अधिकारीहरूको उमेर विवाद भने डीआईजी अशोक सिंहबाट सुरु भएको हो । सिंहको नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरकफरक जन्ममिति रहेको र शैक्षिक प्रमाणपत्रसमेत नक्कली रहेको भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि छानबिन गर्ने क्रममा डीआईजी सिंहको जन्ममिति फरक रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

छानबिनको क्रममा डीआईजी सिंहको नागरिकता जारी भएको मितिको आधारमा २२ जेठ २०२२ जन्ममिति रहेको देखिन्छ। तर, प्रहरीको सिट रोलमा भने उनको जन्ममिति १६ मङ्सिर २०२५ उल्लेख गरिएको छ। प्रहरीको नियमावलीअनुसार २ वटा फरक जन्ममिति भएको अवस्थामा पहिलो जन्ममितिलाई नै आधिकारिक मानिन्छ। यसरी हेर्दा नियमावलीको आधारमा सिंहको जन्ममिति २२ जेठ २०२२ नै मानिन्छ।

यस आधारमा २२ जेठ २०७९ मा उनी ५५ वर्ष पुगेका देखिन्छ । त्यस समयमा सिंह प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) थिए । प्रहरी नियमावलीले एसएसपीको अवकाश उमेर ५५ वर्ष तोकेको छ। आफ्नो उमेर र नियमावलीअनुसार उनले २२ जेठ २०७९ मै अवकाश पाउनुपर्ने थियो । तर, सिंहले अवकाशको सट्टा डीआईजीमा बढुवा पाए । यसमा प्रहरी प्रधान कार्यालयले पनि अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि आवश्यक कागजात मगाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्