चिनियाँ राजदूतले भेटे प्रधानमन्त्री प्रचण्डलाई



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । राजदूत सेनले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर राष्ट्रपति निर्वाचनको विषयमा चासो राखेका हुन् ।

राष्ट्रपतिको चुनाव नजिकिँदै गएसँगै अन्तर्राष्ट्रिय चासो बढ्दै गएको छ । भारतीय र अमेरिकी चासो सार्वजनिक भइरहेका बेलामा चिनियाँ राजदूतले पनि राजनीतिक भेटघाट बढाएका छन् । बालुवाटार स्रोतका अनुसार सेनले प्रचण्डसँग अबको राष्ट्रपति को बन्ने भन्ने बारेमा जिज्ञासा राखेका थिए ।

जवाफमा प्रचण्डले दलहरूबीच छलफल जारी रहेकाले सहमतिमा राष्ट्रपति चयन हुने बताएका छन् । यसअघि अघिल्लो साता प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएलगत्तै राजदूत सेन बालकोट पुगेर ओलीसँग संवाद गरेका थिए । त्यतिबेला पनि राजदूत सेनको चासो राष्ट्रपति चुनावसँग रहेको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्