कानुनी अड्चन टुङ्गिएपछि साउदीबाट फर्किए २ नेपाली



काठमाडौं । लामो समयदेखि कानुनी अड्चन झेल्दै आएका २ जना नेपाली कामदार साउदी अरेबियाबाट स्वदेश फर्किएका छन्। रोजगारदाताले अवैधानिक रूपमा काममा खटाएकी टङ्कमाया आङ्बो र चोरी आरोपमा साउदीको आभास्थित जेलमा रहेका कृष्णकुमार तामाङ स्वदेश फर्र्किएका हुन्। आङ्बो १ दशकअघि कुवेत हुँदै साउदी पुगेकी थिइन्।

लामो समयसम्म अवैधानिक रूपमा घरेलु कामदार बनेकी उनलाई ४ महिनाअघि पछिल्लो रोजगारदाताले जेद्दास्थित महावाणिज्य दूतावास कार्यालयअगाडि बिनापासपोर्ट अलपत्र छाडेको थियो।आङ्बोको सेवा सुविधा दाबी गर्न साउदी सरकारका विभिन्न निकायमा धेरै पटक प्रयास गर्दा कानुनी हैसियतसम्बन्धी रेकर्ड प्राप्त नभएकाले क्षतिपूर्ति सम्भव नभएको महावाणिज्य दूतावासले जनाएको छ।

‘साउदी अरबको परराष्ट्र मन्त्रालयसँग पटकपटक बैठक तथा छलफल गरी निरन्तरको प्रयासमा उहाँ (आङ्बो) को बहिर्गमन भिसा प्राप्त गर्न सफलता प्राप्त मिलेको हो, कानुनी रेकर्ड नभएपछि क्षतिपूर्ति रकम भने प्राप्त भएन’, नियोग प्रमुख शत्रुमित्रु पोखरेलले टेलिफोनमा भने । स्वदेश फर्कने टिकट र अन्य सुविधा महावाणिज्य दूतावासमा पुगेको आश्वासन दिएर रोजगारदाताले कार्यालयको गेटअगाडि छाडेको थियो । नेपाल पठाउन र क्षतिपूर्ति प्रक्रियाको पहल गर्दा ४ महिना हाराहारी लागेकाले आङ्बोलाई खाने बस्ने सुविधासहित सेल्टरमा राखिएको पोखरेलले बताए।

रोजगारदाताले अवैधानिक ढङ्गले काममा लगाएकाले आङ्बो १ दशकसम्म स्वदेश फर्कन पाएकी थिइनन्। उनी बुधबार स्वदेश फर्किएकी छिन्। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले उनलाई हवाई टिकट उपलब्ध गराएको हो । यति लामो अवधिमा आङ्बोले वैधानिक रूपमा काम गरेको अभिलेख भेटिएको छैन। उनले पाउने सेवा सुविधा र क्षतिपूर्ति रकमका लागि साउदीका सङ्घसंस्थाको पहलमा रोजगारदाता कम्पनीको खोजी जारी रहने पोखरेलले बताए।

यस्तै, चोरी आरोपमा जेलमा रहेका तामाङलाई तोकिएको २० लाख ४५ हजार रुपैयाँ (५८ हजार साउदी रियाल) हाराहारी जरिमाना मिनाहा भएको छ। उनलाई त्यहाँको अदालतले ५८ हजार जरिमाना तोकेको थियो। ‘रियादस्थित नेपाली दूतावास र जेद्दास्थित महावाणिज्य दूतावासले यहाँका अदालत, जेल तथा अन्य निकायहरूसँगको निरन्तर बैठक र आग्रहपछि तामाङ जरिमाना मिनाहा भएपछि जेलबाट रिहा हुनुभएको हो’, पोखरेलले भने। मङ्गलबार स्वदेश फर्किएका उनलाई साउदी सरकारले हवाई टिकट उपलब्ध गराएको हो ।

प्रतिक्रिया दिनुहोस्