उपमहासचिव ज्ञवाली भन्छन् : राष्ट्रपति निर्वाचनमा कांग्रेस-एमालेको सहकार्य हुनसक्छ



पाँचथर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति निर्वाचनमा कांग्रेस र एमालेको सहकार्य हुनसक्ने बताएका छन् । पाँचथरको फिदिम पुगेका ज्ञवालीले आज बिहान पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

मुलुकमा स्थिरता र भूराजनितिक चलखेल रोक्न मुलुकका प्रमुख दलबीचको सहकार्य अपरिहार्य हुने चर्चा गर्दै ज्ञवालीले कांग्रेस सकरात्मक भएर संवादमा आए राष्ट्रपति निर्वाचनमा सहकार्य हुने सम्भावना यथावत रहेको बताए ।

राष्ट्रपति निर्वाचनका सन्दर्भमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाटो बिराएको ज्ञवालीको आरोप थियो । कांग्रेस-माओवादीबीचको तत्कालीन गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले पहिलो कार्यकालमा प्रधानमन्त्री दिन तत्पर नभएपछि एमालेले उद्धार गरेर प्रधानमन्त्री बनाइएका दाहालले सहमति विपरीत एमालेलाई राष्ट्रपति पदमा अस्वीकार गरेकोमा आफूहरु सशंकित भएको उनको भनाइ थियो ।

मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम आए लगत्तै एमालेले औपचारिक रुपमा कांग्रेससँग देशको हितका पक्षमा छलफल गर्न चाहेपनि कांग्रेस नेताहरुले अस्वीकार गर्दा माओवादीलाई साथ दिएको उनले बताए ।आन्तरिक र बाहृय चलखेल, आर्थिक मन्दी र स्थायित्वका लागि कांग्रेस-एमालेको सहकार्य जरुरी रहेको भन्दै ज्ञवालीले कांग्रेसले एमालेसँग छलफलमा आए राष्ट्रपति निर्वाचनमा सघाउने सम्भावना यथावत रहेको उनको भनाइ थियो ।

एमालेले सुरु गरेको ग्रास रुट अभियानुको तयारी स्वरुप एमाले पाँचथरले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन पाँचथर आइपुगेका हुन् । एमालेको शनिबार बिहान बस्ने सचिवालय बैठकले राष्ट्रपति उम्मेद्वार टुंगो लगाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्