एमाले सरकारबाट बाहिरियो, प्रचण्डले विश्वासको मत लिनुपर्ने



काठमाडौं : नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ । साथै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

राप्रपा, रास्ट्रिय स्वतन्त्र पार्टी , र एमालेबाट मन्त्री बनेकाहरु सरकारबाट बाहिरीएका छन् । राप्रपा र एमालेले सरकारलाई दिएको समर्थन नै फिर्ता लिएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई समर्थन गरेको छ । सरकारमा सहभागि दलले समर्थन फिर्तालिएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनः विश्वासको मत लिनुपर्ने भएको छ ।

गत पुस २६ गते ९९ प्रतिशत विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डले संवैधानिक व्यवस्थाबमोजिम पुनः विश्वासको मत लिनुपर्ने भएको हो । संविधानको धारा १०० को उपधारा २ मा भनिएको छ— प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ । एक महिनाभित्र विश्वासको मत लिनुपर्ने यही व्यवस्थाबमोजिम प्रधानमन्त्री प्रचण्डले चैत्र १२ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

 

गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्तिले समर्थन गरेका थिए । अहिले पुरानो गठबन्धन भक्तिएको छ । कांग्रेस सहित आठदलिय गठबन्धन बनेकाले प्रचण्डलाई विश्वासको मत लिन कठिन भने देखिदैन ।

प्रतिक्रिया दिनुहोस्