चितवन मेडिकल कलेजमा नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफल



चितवन । चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफल भएको छ । भरतपुर महानगरपालिका-१ ठिमुराका २४ वर्षीय मिलन प्रजा र २० वर्षीया सविता प्रजाकी ३५ दिनकी शिशु महिमा प्रजाको मुटुको डी-टीजीए (डेस्ट्रो ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज) को शल्यक्रिया सफल भएको हो ।

सीएमसी शिक्षण अस्पतालमा कार्डियोथोरासिस तथा भाष्कुलर सर्जन प्रा डा अनिल आचार्य नेतृत्वको टोलीले शिशुको शल्यक्रिया गरेको हो । डीटीजीए शल्यक्रिया नेपालमा सफल भएको यो तेस्रो घटना भएको प्रा.डा आचार्यले बताएका छन् । उनले भने मलाई थाहा भएसम्म नेपालमा यस्तो प्रकृतिको शल्यक्रिया सफल भएको यो तेस्रो हो । यस्ता प्रकृतिको शल्यक्रिया गर्दा मृत्युदर ९० प्रतिशतसम्म हुन्छ ।

उनका अनुसार मानिसको मुटुको तल्लो दाहिने कोठाबाट फोक्सोमा रगत जाने रक्तनली हुने र देब्रेतिरको तल्लो कोठाबाट शरीरमा रगत जाने रक्तनली हुन्छन् । दाहिनेतर्फ फोक्सोमा गएको रगत शुद्ध भएपछि देब्रे कोठामा आएर देब्रे कोठाले शुद्ध रगत शरीरमा पठाउनुपर्नेमा महिलाको रक्तनली ठीक उल्टो भएको उनले बताए ।

यस्तो प्रकृतिको शल्यक्रियामा कोरोनरी आर्टरिजका नलीहरूको समेत ठाउँ बदल्नुपर्ने जनाउँदै प्रा डा आचार्यले भने त्यो पनि हामीले ठाउँ बदल्यौँ । महिमामा अब कुनै समस्या नरहेको उनको भनाइ छ ।

नवजात शिशुलाई बेहोस बनाएर शल्यक्रिया गर्न निकै जटिल हुने भन्दै उनले त्यसमाथि मुटुजस्तो संवेदनशील अङ्गको शल्यक्रिया झनै जटिल हुने बताएका छन् । गएको माघ २३ अस्पताल भर्ना भएकी महिमाको २५ गते शल्यक्रिया गरिएको हो । शल्यक्रियामा प्रा डा आचार्यसहित डा अल्का सिंह, एनेस्थेसियोलोजिष्ट डा प्रवेश ज्ञवाली, परफूजनिस्ट ९शल्यक्रिया गर्दा मुटु र फोक्सो चलाउने मेसिन सञ्चालन गर्ने० गोविन्द बधनगरिया, बालरोग विशेषज्ञ डा विराज पराजुली नर्सहरूको टोली संलग्न थिए।

भरतपुर अस्पतालका चिकित्सकले निमोनियाको शङ्का गरेर महिमालाई सिफारिस गरेका थिए । बीस दिन एनआईसीयूमा राखेर उपचारपछि महिलामा अहिले पूर्णरूपमा निको भएकी छिन् । उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

काठमाण्डौका शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा १५ वर्षमुनि र ७५ वर्षमाथिकालाई मुटुको उपचार निःशुल्क हुने भए पनि उपत्यका बाहिर यो सुविधा सरकारले दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्