प्रि-मनसुनमा पनि खडेरी, ४ प्रदेशमा औसतभन्दा न्यून वर्षाको प्रक्षेपण



काठमाडौं । यस पटकको हिउँदयाम खडेरीमै बित्यो। औसतभन्दा ज्यादै न्यून (२१ दशमलव ५ प्रतिशत मात्रै) वर्षा भएको हिउँदझैँ मनसुन पूर्वाद्र्ध (प्रि–मनसुन) पनि सुख्खा हुने छ । मनसुनअघिका आगामी ३ महिना मुलुकका धेरै भागमा औसत वर्षा हुनेछैन। अङ्ग्रेजी महिनाका मार्च, अप्रिल र मे मनसुन पूर्वाद्र्ध अवधि हो।

विश्व मौसम सङ्गठन (डब्लूएमओ) र त्यसमा आबद्ध विभिन्न १३ वटा अग्रणी संस्थाको जलवायु प्रारुपले यो अवधिमा नेपालका धेरै भेगमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरेका छन् । जल तथा मौसम विज्ञान विभागको मौसमी क्यालेन्डरअनुसार बुधबार (१७ फागुन) देखि प्रि–मनसुन सुरु भएको छ।

नेपालमा प्रि–मनसुनको औसत वर्षा २२६ मिलिमिटर हो। बाग्मती प्रदेशको पश्चिमी भेग, मधेस प्रदेशको पश्चिमी भेग, गण्डकी र लुम्बिनी प्रदेशमा ४० देखि ५० प्रतिशत हाराहारी मात्रै वर्षा हुने डब्लूएमओले नेतृत्व लिएका जापान, युरोपियन सेन्टर, बेलायतलगायतका संस्थाको प्रक्षेपण छ। प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने औसत हाराहारी वर्षा हुने डब्लूएमओलगायत संस्थाहरूको पूर्वानुमान रहेको विभागकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले जानकारी दिइन्।

‘डब्लूएमओ र विभिन्न संस्थाको एकीकृत आकलनले सरदरभन्दा कम, सरदर र सरदरभन्दा बढीको सम्भावना पनि देखाएको छ’, उनले भनिन्, ‘तर यस पटकको हिउँदयामको अवस्थालाई विश्लेषण गर्दा प्रि–मनसुनमा औसत वर्षा नपुग्ने हाम्रो (विभागको) ठहर छ।’ मधेस, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशबाहेक अन्यत्र सरदर हाराहारी वर्षाको सम्भावना रहेको विभागको हावापानी विश्लेषण शाखा प्रमुखसमेत रहेकी कँडेलले बताइन्।

मनसुन र हिउँदे वर्षाको नियमित पूर्वानुमान गर्दै आएको विभागले मनसुन उत्तराद्र्ध (अक्टोबर–नोभेम्बर) र मध्य हिउँदे वर्षाको अग्रिम अवस्था भने विश्लेषण गर्दैन। डिसेम्बर, जनवरी र फेबु्रअरी (१५ मङ्सिरदेखि १६ फागुन) नेपालको मध्य हिउँदे अवधि हो । पोस्ट मनसुन र मध्य हिउँदे अवधिको अग्रीम अवस्था थाहा पाउन विभाग र विभाग मातहतका निकायले डब्लूएमओलगायत सङ्घसंस्थाको पूर्वानुमान अनुशरण गर्दै आएका छन्।

कुनै मौसमी केन्द्रमा ३ दशकदेखि मापन हुँदै आएको वर्षाको तथ्याङ्कका आधारमा सरदर वर्षा निर्धारण हुने गर्छ । वर्षाको मात्रा विश्लेषण गर्न विभागले सन् १९९१ देखि सन् २०२० को अवधिलाई औसत मान्दै आएको छ ।

हिउँदे वर्षा ज्यादै कमजोर

यसपटकको हिउँदे वर्षा विगतका वर्षहरूभन्दा धेरै कमजोर भएको छ। ३ महिनाको अवधिमा १२.९ मिलिमिटर (२१.५ प्रतिशत) मात्रै वर्षा भएको विभागको तथ्याङ्क छ । हिउँदे वर्षाको यो अवस्था औसत वर्षाभन्दा ३९ प्रतिशत कम हो। देशभरको हिउँदे वर्षाको औसत मात्रा ६०.५ मिलिमिटर हो।

३ महिनाको अवधिमा गत वर्ष ७४.८ मिलिमिटर वर्षा भएको थियो । सातै प्रदेशका २० वटा स्टेसनको अवस्था विश्लेषण गर्दा हिउँदे वर्षा निकै कमजोर रहेको डा. कँडेलले बताइन्। यस पटक हिउँदे अवधि सकिनै लाग्दा गत साता उच्च पहाडी र हिमाली भेगमा हिमपातसँगै केही भेगमा मध्यम र हल्का वर्षा भयो। ३ महिनाको अवधिमा मध्य तथा पूर्वी तराईका जिल्लामा वर्षा नै भएन।

भैरहवा, दाङ, सिमरा, जनकपुर, धरान, धनकुटा तथा विराटनगरका मौसम मापन केन्द्रमा वर्षा भएको तथ्याङ्क छैन। ‘गत असोजको अन्तिम साताबाट धरै स्थानमा वर्षा भएको थिएन, सरदर वर्षाको २१.५% मात्र वर्षा हुनु अधिक खडेरीको अवस्था हो’, कँडेलले भनिन्।

२ वर्षअघि २०७७ को हिउँदमा पनि औसतभन्दा कम (२५ प्रतिशत मात्रै) वर्षा भएको थियो। विगत डेढ दशकको अवधिमा ७ वटा हिउँदमा सरदरभन्दा बढी वर्षा भएको थियो भने २०६४, २०६५, २०७२, २०७३ र २०७४ मा औसतभन्दा न्यून वर्षा भएको विभागको अभिलेख छ।

पश्चिमी वायु कमजोर हुँदा हिउँदे वर्षा कम

भूमध्य सागरको वायुको प्रभावले नेपालसहित दक्षिण एसियाली देशहरूमा हिउँदे वर्षा हुने गरेकामा यस पटक पश्चिमी वायु निष्क्रिय बन्दा हिउँदे झरी कमजोर भयो। भूमध्य र अरब सागरको वायुको मिश्रण हुँदा हिउँदे वर्षा सशक्त बन्ने गर्छ। यस पटक दुवै सागरका वायुको मिश्रण नहुँदा हिउँदमा पर्याप्त वर्षा हुन नसकेको वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले बताए।

साथै वायुमण्डलको उपल्लो भेग हुँदै बहने वायुको मुस्लो (जेटस्ट्रिम)को असर जमिनतर्फ नहुँदा तापक्रम विगतका वर्षहरूझैँ नखस्किएको र हिउँदे झरी नभएको उनले प्रष्ट्याए। बाह्रैमास सक्रिय रहने जेटस्ट्रिम गर्मीयाममा पृथ्वीको सतहबाट १४/१५ किमी र हिउँदयाममा १० किमी हाराहारी उचाइबाट बहने गर्छ।

२/३ सय मिटर प्रतिसेकेन्डका दरले चीनको तिब्बततर्फ बहने यस्तो वायुको प्रत्यक्ष/अप्रत्यक्ष प्रभावले हिउँदे वर्षा गराउन मद्दत गर्छ। ‘यसपटक पश्चिमी वायु पनि कमजोर भयो । भारतीय भूभाग, नेपाली अकाश हुँदै सोझै जेटस्ट्रिम तिब्बततर्फ जाँदा हिउँदे वर्षा गराउने प्रणालीमा सहयोग पुगेन’, शाक्यले भने। प्रि–मनसुन कमजोर भए पनि क्षणभरमा मौसम बदलिने, अपराह्नपछि मेघ गर्जिंदै हल्का र क्षणिक वर्षाका गतिविधि भने रहने मौसमविद्हरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्