काठमाडौंमा हल्का वर्षा, अन्य क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना



काठमाडौं । काठमाडौंमा हल्का वर्षा भएको छ । पहाडी क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् वरुण पौडेलका अनुसार अहिले देशभरकै मौसम बदली भएको छ । पश्चिमी वायूको प्रभावका कारण मौसम बदली भएको र काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको उनले जानकारी दिएका छन् ।

उहाँका अनुसार पहाडी क्षेत्रका केही ठाउँमा आज मेघगर्जनसहित चट्याङ पर्ने अनुमान छ । यस्तै, हिमाली जिल्लाका केही ठाउँमा हल्का हिमपात हुनेछ । हिमाली क्षेत्रका एक दुई ठाउँमा अहिले पनि हिमपात भइरहेको मौसमविद्ले बताएका छन् ।

आज राति पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । राति कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

भोलि पनि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने र हिमाली क्षेत्रका एक दुई ठाउँमा हिमपात हुने मौसमविद् वरुण पौडेलले जानकारी दिएका छन्। मेघगर्जन र चट्याङ्गको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्