स्ववियु निर्वाचन : कतै सर्वसम्मत नेतृत्व चयन, कहीँ मनोनयन नै भएन



  • रमेश पौडेल

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको माहोल तातिरहँदा विभिन्न २७ क्याम्पसका सभापति सर्वसम्मत् निर्वाचित भएका छन्। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), नेकपा एमाले निकट (अनेरास्ववियु) र नेकपा एकीकृत समाजवादी निकट (अनेरास्ववियु), नेकपा माओवादी केन्द्र निकट (अनेरास्ववियु क्रान्तिकारी)बीच अधिकांश क्याम्पसहरूमा तालमेल भएको छ।

अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षलगायत पद बाँडफाँट भएपछि सभापतिहरू सर्वसम्मत चयन भएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राप्रविसंघ, नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’ निकट अखिल (त्रान्तिकारी) पनि पुराना पार्टीका भ्रातृ संगठनसँग तालमेलमा आएका छन्।

उम्मेदवारी मनोनयन हुने दिन २७ फागुनसम्म अन्य संगठनका उम्मेदवारहरूको मनोनयन नभएपछि पद बाँडफाँट भएको हो । त्रिभुवन विश्वविद्यालयले आगामी ५ चैतमा स्ववियु निर्वाचनको मिति तय गरेको छ। अध्यक्ष, सचिव, कोषाध्यक्ष र केही सदस्य निर्वाचनबाट चुनिन्छन् भने उपाध्यक्ष, सहसचिवसहित केही सदस्य समानुपातिकबाट निर्वाचित हुन्छन् । क्याम्पसमा विद्यार्थी सङ्ख्याअनुसार ११ देखि २१ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ ।

एमालेनिकट अनेरास्ववियुले १२ वटा क्याम्पसको सभापति पाएको छ। धनकुटा बहुमुखी क्याम्पसमा सन्तोष बुढाथोकी, सुनकोसी बहुमुखी क्याम्पस सिन्धुपाल्चोकमा हिरा थामी, ह्यात्रुङ झरना क्याम्पस तेह्रथुममा प्रकाश गौतम, कोटदेवल क्याम्पस दैलेखमा सीता कार्की, गरुवा बहुमुखी क्याम्पस इलाममा गोपाल आचार्य, एकतप्पा बहुमुखी क्याम्पस इलाममा प्रतीक्षा खनाल सभापति चयन भएका छन्।

त्यसैगरी झापाको गरामनी क्याम्पसमा सन्तोष तिम्सिना, मानका टीकाराम बहुमुखी क्याम्पस गुल्मीमा आकाश खरेल, तीनपाटन बहुमुखी क्याम्पस सिन्धुलीमा प्रेमबहादुर पुलामी, सरस्वती क्याम्पस सिन्धुलीमा देवराज गौतम, भीमज्योति क्याम्पस सिन्धुलीमा लक्ष्मी श्रेष्ठ, गौमती बहुमुखी क्याम्पस सिन्धुलीमा सभापति भएका छन्।

कांग्रेस निकट नेविसंघबाट ८ वटा क्याम्पसमा सभापति सर्वसम्मत भएका छन्। सिन्धुपाल्चोकको ठोकर्पा सामुदायिक क्याम्पसमा सरस्वती जिसी, सिन्धुपाल्चोककै सिन्धु भ्याली क्याम्पसमा सुरज चौलागाईँ, पाँचथर बहुमुखी क्याम्पसमा मुना नेपाली, त्रिपुरेश्वर क्याम्पस सिन्धुलीमा भक्तबहादुर तामाङ, सिन्धुली बहुमुखी क्याम्पसमा कृष्ण लामिछाने, गुर्भाकोट क्याम्पस सुर्खेतमा गोपाल खड्का, जितपुर क्याम्पस धनकुटामा निरुता खड्का, लाम्पान्टार क्याम्पस सिन्धुलीमा रामप्रसाद गौतम सभापति भएका छन्।

माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ७ क्याम्पसको नेतृत्व पाएको छ। जसमा चौतारा बहुमुखी क्याम्पस सिन्धुपाल्चोकमा अमृत श्रेष्ठ, ककलिङ क्याम्पस सिन्धुपाल्चोकमा लक्ष्मण घिसिङ, मरिण बहुमुखी क्याम्पस सिन्धुलीमा विज्ञान दोर्जे बल, सुनकोसी क्याम्पस सिन्धुलीमा विनिता न्यौपाने, सिद्धज्योति क्याम्पस सिन्धुलीमा गोविन्द पहाडी, गोरखा क्याम्पसमा विष्णु पाण्डे र स्यार्पु बहुमुखी क्याम्पस रुकुम पश्चिममा किरण विश्वकर्मा सभापति भएका छन्।

त्रिवि अन्तर्गतका ६२ आङ्गिक, ५२९ सामुदायिक र ५४९ निजी क्याम्पसमा करिब ४ लाख विद्यार्थी छन्। त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले निर्वाचनको जिम्मेवारी पाएको छ। तर, निर्वाचनमा कति क्याम्पसले भाग लिँदै छन् भन्ने विवरण परिषद्सँग छैन।

निर्वाचनका लागि शनिबार (२७ फागुनमा) अधिकांश क्याम्पसमा मनोनयन दर्ता भएको छ । तर कतिपय क्याम्पसमा विद्यार्थी संगठनहरूबीचको विवादले मनोनयन हुन सकेको छैन। पोखरास्थित पृथ्वीनारायण क्याम्पस, काठमाडौँका रत्नराज्य, नेपाल कमर्स क्याम्पस, त्रिचन्द्र क्याम्पस, ललितपुरको पाटन बहुमुखी क्याम्पस, भैरहवास्थित लुम्बिनी वाणिज्य क्याम्पस, वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पस लगायतका क्याम्पसमा निर्वाचन कार्यक्रम प्रभावित पार्न विद्यार्थीले तालाबन्दी गरेका छन्।

खालखालका गठबन्धन

संघीय सरकार गठनका क्रममा बनेको सत्ता गठबन्धन निकट विद्यार्थी संगठनबीच निर्वाचनमा होमिने गरी तालमेल भएको थियो। तर, संगठन र माउ पाटीहरूबीचको गुटबन्दीले गर्दा एउटै संगठनबाट बागी उम्मेदवारी दर्तासँगै फरक फरक तालमेल भएको छ।

नेविसंघ र अखिल (क्रान्तिकारी), जसपा निकट समाजवदी विद्यार्थी युनियन, नेकपा (एस) निकट अनेरास्ववियुलगायत विद्यार्थी संगठनबीच अधिकांश क्याम्पसमा तालमेल भएको छ । सुनसरीको जनता बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियु र माओवादी निकट अखिल (क्रान्तिकारी)को तालमेल भएको छ।

क्याम्पसको परिस्थितिअनुसार तालमेल भएको सो क्याम्पसका अखिल (क्रान्तिकारी)का अध्यक्ष तथा स्ववियुका सचिव पदका उम्मेदवार अर्जुन पौडेल बताउँछन् । ‘अनेरास्ववियुसँग हामी भावनात्मक रूपमा नजिक भएका थियौँ’, उनले भने, ‘हामीले क्याम्पसको हितका लागि गर्ने विभिन्न आन्दोलनमा पनि नेविसंघले साथ नदिएको र अनेरास्ववियुले साथ दिएकाले माथिको सर्कुल जे भए पनि हामीले छुट्टै तालमेल गरेका हौँ ।’

कास्कीका सबै क्याम्पसमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) बीच तालमेल गर्ने सहमति भएको छ। २ संगठनबीच जिल्ला तहको नेतृत्वले नै लिखित सहमति गर्दा भागबन्डा गरेर सहमति गरेका थिए। इलामको महोन्द्र रत्न क्याम्पसमा पनि छुट्टै तालमेल भएको छ। अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र राप्रपा निकट राप्राविसंघबीच त्यहाँ तालमेल भएको छ।

प्रशासनले मनोनयन रोकेको आरोप
ललितपुरको पाटन संयुक्त क्याम्पसमा प्रशासनले विभिन्न बहाना गर्दै मनोनयन दर्ता प्रक्रिया रोकिएको ८ विद्यार्थी संगठनको आरोप छ। नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, अखिल (क्रन्तिकारी) ‘विप्लव’, अनेरास्ववियु (क्रान्तिकारी), अखिल (क्रान्तिकारी) ‘बहुमत’, समाजवादी विद्यार्थी युनियन र नेपाल क्रान्तिकारी विद्यार्थी संघले त्रिविले तोकेको समयमै निर्वाचन गर्न माग गरेका छन् ।

‘तोकिएकै मितिमा निर्वाचन गर्ने गरी १२ घन्टाभित्र प्रक्रिया सुचारु गरेर क्याम्पस प्रमुखले तत्कालै राजीनामा गरी निमित्त क्याम्पस प्रमुखमार्फत निर्वाचन गराउने गरी आवश्यक निर्णय गर्न त्रिवि प्रशासनसँग माग गर्दछौँ’, विद्यार्थी संगठनहरूले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। माग सम्बोधन नभए क्याम्पस प्रमुखलाई अनिश्चितकालका लागि क्याम्पस प्रवेशमा रोक लगाउने उनीहरूको चेतावनी छ।

प्रतिक्रिया दिनुहोस्