लायन्स क्लबद्वारा निःशुल्क दन्त परिक्षण शिविर सम्पन्न



काठमाडौँ । चक्रघट्टीमा रहेको लायन्स क्लब अफ सप्तकोसी डायनामिकले फागुन ३० गते बच्चाहरूका लागि ‘निःशुल्क दन्त परिक्षण शिविर’ कार्यक्रम सम्पन्न गरेको छ। गत बर्ष स्थापना भएको लायन्स क्लब अफ सप्तकोसी डायनामिकले आफ्नो पहिलो बार्षिकोत्सव मनाउने क्रममा सो शिविर आयोजना गरिएको हो ।

स्थानीय फ्रेया बराह अस्पताल प्रा.लिको प्राविधिक सहयोगमा मंगलबार दिउँसो वराहक्षेत्र–६ स्थित एके मन्टेश्वरी स्कुलमा बच्चाहरूका लागि ‘निःशुल्क दन्त परिक्षण शिविर’ तथा साँझमा क्लबका सदस्यहरूबीच शुभकामना आदान प्रदान कार्यक्रम राख्दै क्लबले आफ्नो पहिलो बार्षिकोत्सव कार्यक्रम भव्यताका साथ मनाएको छ।

उक्त दन्त परिक्षण शिविर मार्फत स्थानीय ८७ जना बालबालिकाहरूको दन्त परिक्षण गरिएको क्लबले जानकारी गराएको छ। शिविरमा अधिकांश बालबालिकाहरूमा सानो उमेरमा नै दाँतमा किरा लाग्ने, समयमा दाँत नफुकाल्नाले दाँत बाङ्गोटिङ्गो निस्किने तथा बच्चाहरूको दाँतको सफाइ राम्रोसँग हुन नसकेको आदि समस्या देखिएको क्लबका प्रथम उपाध्यक्ष बिक्रम कर्णले जानकारी गराए ।

‘सेवा गर्छौँ’ भन्ने मूल मर्मका साथ वराहक्षेत्रका सक्रिय युवाहरूलाई संगठित गर्दै समाजसेवा तथा विभिन्न सामाजिक कार्यहरू गर्ने उदेश्यले स्थापना गरिएको उक्त संस्था स्थापनाको पहिलो बर्षमा नै वराहक्षेत्र नगरपालिकाको सक्रिय संस्थाको रूपमा आफुलाई अगाडि बढाइरहेको छ ।

क्लबले आफ्नो स्थापनाको एक वर्षमा लायन्स क्लब डिष्ट्रिकका विभिन्न कार्यक्रम एवम् सामाजिक गतिविधिहरूमा सक्रिय सहभागिता जनाउनुका साथै निःशुल्क स्वास्थ्य जाँच शिविर, क्लोथ बैंक संचालन तथा न्यानो कपडा वितरण, आपतकालीन अवस्थामा फ्रेस रगतको व्यवस्थापन तथा रक्तदान, निःशुल्क पानी वितरण, निःशुल्क शैक्षिक सामाग्री वितरण तथा प्राकृतिक प्रकोपमा आवश्यक अनुगमन तथा सहयोग गरेको अध्यक्ष सन्तोष चौलागाईको भनाइ छ ।

यी लगायत विभिन्न २३ वटा भन्दा बढि कार्यक्रमहरू संचालन गरिसकेको जानकारी गराउँदै आगामी दिनमा निरन्तर समाजसेवा तथा सामाजिक कार्यहरूमा थप सक्रिय भएर क्लब अगाडि बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्