काठमाडौं सुन्दैन, गाउँमा परिवारलाई कुटपिट र धम्की



  • रमेश पौडेल

काठमाडौं । १२ दिन हिँडेर गत आइतबार काठमाडौं आइपुगेका मिटरब्याज पीडित दोहोरो मारमा परेका छन्। यता उनीहरूले मिटरब्याजविरुद्ध न्याय मागिरहँदा उनीहरूको परिवारमा भने कुटपिटदेखि धम्कीसम्मका क्रियाकलाप हुन थालेका छन्।

साहुले छोराछोरीलाई कुटपिट गर्नेदेखि सासूससुरालाई धम्की दिन थालेको पीडितहरूको भनाइ छ। दिनहुँजसो साहुले छोराछोरी कुटपिट गरेर पीडामाथि झन् पीडा दिँदै आएको आन्दोलनमा आएकी कलसादेवी सदा सुनाउँछिन्।

कलसाले ७ महिनाअघि छोरी बिरामी हुँदा ८/१० घरपरका साहु अशोक सदासँग १ लाख रुपैयाँ ऋण लिएकी थिइन। कसलाले एक पटक ५० हजार, एक पटक ३० हजार र एक पटक ३० हजार गरी १ लाख १० हजार रुपैयाँ तिरिसकेकी छिन्। तर, साहु अशोकले भने उनले २ लाख रुपैयाँ ऋण लिएको भनेर तमसुक देखाइरहेका छन्।

 साहुले पटक–पटक घरमा आएर धम्की दिने, प्रहरी लगाउने, गुण्डा लगाउनेलगायत यातना दिन थालेपछि अरू पीडितसँगै उनी पनि न्याय माग्न काठमाडौं आइन्। तर, उनी यता न्याय माग्न आउँदा उनको घरमा भने छोराछोरीलाई आमाले मिडियामा आफ्नो नाम लिएको भन्दै साहुले कुटपिट गर्ने थालेको उनी बताउँछिन्।

‘म यता (काठमाडौं) छु मेरा छोराछोरीलाई साहुले कुटपिट गरेछ,’ कलसा रुँदै आफ्नो पीडा सुनाउँछिन्, ‘छोराको हातमा पूरै घाउ नै घाउ छ, छोराछोरीले रुँदै फोन गर्छन् । म आन्दोलनमा बस्नु कि घर जानु, दोधारमा छु।’ पति वैदेशिक रोजगारीका लागि कतारमा रहेको कलसा बताउँछिन् । कम्पनी राम्रो नपरेर पतिको कमाइ राम्रो छैन । उनको घरमा ४ छोरा र १ छोरी छन्। उनीहरूको अन्य कमाइ गरेर खाने कुनै माध्यम छैन । जग्गा जमिन केही नभएकाले अरूको अधियाँ गरेर उनको जीविका चलेको ।

‘श्रीमान्ले कमाएको जति छोराछोरी पढाउनुपर्‍यो, घर खर्च पनि हुन्छ, त्यहाँ पनि चाहियो’, उनी भन्छिन्, ‘साहुले दिनै आएर पैसा तिर् भनेर दुःख दिन्छ।’ अर्की मिटरब्याज पीडित कल्पना धामीको पनि समस्या त्यस्तै छ। उनको पनि घरमा भएका सासू, ससुरालाई बुहारीले आफ्नो नाम मिडियामा बोलेको भन्दै धम्की दिन थालेका छन्।

धामीका पति पनि विदेशमा छन्। कोरोनाको बेलामा विदेशमा भएका पतिको कमाइ थिएन। उनका ५ वर्षको छोरा बिरामी हुँदा साहुसँग उपचारका लागि ५० हजार रुपैयाँ लिइन्। कोरोनाको कहर केही सहज भएछि उनलाई पतिले पैसा पठाउनेबित्तिकै ३ किस्ता गरेर ८० हजारभन्दा बढी तिरिसकिन् । तर पनि अझै तिर्न बाँकी छ भनेर साहुले तमसुक देखाइरहेका छन्।

त्यही पीडाका कारण अरू मिटरब्याज पीडितसँगै उनी पनि न्यायका लागि काठमाडौं आइन्। धामीले पनि मिडियामा साहुको नाम लिएको भन्दै साहुले दिनहुँजसो घरमा सासू–ससुरालाई धम्की दिने गरेको काखमा दुधे बालक बोकेर आएकी उनी सुनाउँछिन्।

‘सासूले फोन गर्दै साहुले धम्की दिएको सुनाइरहनुभएको छ’, धामी भन्छिन्, ‘म त घर जानु कि यहाँ बस्नु दोधारमा छु।’ धामीले मिडियामा बोलेका कारण सासूससुरालाई साहुले धम्की दिएको उनको भनाइ छ।

मिटरब्याज पीडितहरूको कुरा सदनदेखि सडकसम्म उठिरहेको छ। सरकारले गृह सचिव रुद्रादेवी शर्माको नेतृत्वमा ५ वार्ता टोली बनाएर पीडितहरूसँग निरन्तर छलफल गरिरहेको छ। तर यसको निकास निस्किन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्