साना उद्यमी व्यवसायीका मुद्दामा खनालको उम्मेदवारी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा कार्यकारिणी सदस्यमा उम्मेदवारी दिएका इन्द्र खनालले साना उद्यमी व्यवसायीका मुद्दालाई प्राथमिकता दिएका छन् ।

देशको समग्र आर्थिक विकासका निम्ति ठूला उद्योगी व्यवसायीसँगै साना उद्यमी व्यवसायी पनि अगाडि बढ्नुपर्ने उनको भनाइ छ । साना उद्यमी व्यवसायीका मुद्दा छायाँमा परिरहेका बेला ठूला उद्योगी व्यवसायीसँग हातेमालो गर्नुपर्ने खनाल बताउँछन् ।

वस्तुतर्फबाट उम्मेदवार बनेका उनी नेपाल सौर्य विद्युत् उत्पादक संघका निर्वतमान अध्यक्ष हुन् । साना उद्यमी व्यवसायीले उत्पादन, निर्यात, रोजगारीलगायतका क्षेत्रमा योगदान दिँदै आएका छन् । तर, उनीहरूका समस्या र व्यवसाय विस्तारलगायतका विषयमा राज्यका नीतिगत तहमा आवाज पुग्न नसकेको चर्चा विगतदेखि हुँदै आएको छ ।

समस्यालाई समाधान गर्न महासंघमा आफ्नो उपस्थिति अनिवार्य रहेको खनालको तर्क छ । बजारमा देखिएको तरलता अभाव, उच्च ब्याजदर उत्पादनले बजार नपाउनेजस्ता समस्याबाट व्यवसायी पीडित छन् । नेपालमै गरिखान सकिन्छ भन्ने अनुभूति दिलाउँदै उद्यमी व्यवसायीको पलायनलाई रोकेर उनीहरूको आत्मविश्वास बढाउँदै महासंघले अभिभावकीय भूमिका खेल्नुपर्ने खनालले बताए ।

‘साना उद्यमीलाई प्रोत्साहन गर्न विभिन्न क्षेत्रमा देखिएका नीतिगत समस्या समाधान गर्नैपर्छ, उनले भने, ‘यसका लागि महासंघले समन्वयकारी र अभिभावकीय भूमिका खेल्नुपर्छ’, उनले भने । देशले आर्थिक फड्को मार्न ठूलो लगानीको आवश्यकता पर्ने भए पनि सानो पुँजीको योगदान पनि महत्वपूर्ण हुने खनालले बताए ।

भूकम्प, नाकाबन्दी, कोभिड जस्ता घटनाले अर्थतन्त्रमा साना लगानीकर्ताको योगदानको महत्व प्रमाणित गरेको बताउँदै उनले भने, ‘तर, राज्य र अन्य सरोकारवालाले उनीहरुका समस्यामा स्वामित्व लिएका छैनन् ।’ नेपालको पहिचानका रूपमा रहेको नवीकरणीय ऊर्जा क्षेत्रले साझा उम्मेदवारका रूपमा आफूलाई अगाडि सारेको उल्लेख गर्दै खनालले ऊर्जा क्षेत्रको विकास र विस्तारलाई महासंघमार्फत् सहजीकरण गर्न आफू क्रियाशील रहने बताए ।

प्रतिक्रिया दिनुहोस्