राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ। १३औँ अधिवेशनको १६औँ बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजेर १ मिनेटमा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ। बैठकका लागि विभिन्न सम्भावित कार्यसूची तय गरिएको छ।

त्यसानुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८/७९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ वार्षिक प्रतिवेदन, २०७८/०७९ सभासमक्ष पेस गर्नेछन्।

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

प्रधानमन्त्री प्रचण्डले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रधानमन्त्रीले नै ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ पारित गरियोस्’, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस्’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्