जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खुला गर्ने सरकारको तयारी



काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खुला गर्ने  भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भू-उपयोग नीति अनुसार जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खुला गर्ने तयारी भइरहेको बताएका  हुन् । बजारमा तरलता अभाव हुनुमा यसको पनि असर रहेको भन्दै कित्ताकाट खुला गर्न लागिएको बताइएको छ । 

प्रधानमन्त्री प्रचण्डले सोमबार पोखराबाट आएको उद्योगी व्यवसायीसँग सिंहदरबारमा भएको भेटमा , तरलताको समस्या भनेको जग्गामा गएर पैसा फसेको छ, कित्ताकाट रोकिएको छ बेचबिखन रोकिएको बताएका हुन् । उहाँले  पूँजीको अभाव हुनुको एउटा कारण त्यो हो भन्ने कुराले अहिलेलाई जग्गाको वर्गीकरणवाला कुरोलाई थाती राखेर भए पनि पुरानै स्थितिमा लैजाने र कित्ताकाट र जग्गा बेचबिखनलाई सैद्धान्तिक सहमति क्याबिनेटबाट दिने, त्यसो गर्‍यो भने अहिलेको क्राइसिस म्यानेज गर्छ भनेर हुन सक्ने जति कोसिस गरेको बताउनु भएको छ । 

सरकारले यसै वर्ष ल्याएको भू-उपयोग नियमावलीका कारण स्थानीय तहले कृषि र गैर कृषियोग्य जग्गाको वर्गीकरण गर्नुपर्छ । यसरी जग्गाको वर्गीकरण गरेपछि मात्र कित्ताकाट  हुन झन्झटिलो व्यवस्था  त्यसमा रहेको थियो । 

प्रधानमन्त्री प्रचण्डले नेपाल अर्थ बजार पहिलेको भन्दा सुधारको अवस्थामा रहेको बताउँदै बैकको ब्याजदर एक अंकमा झार्नको लागी आफ्नो प्रयास रहने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्