आज आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री



काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका मन्त्रीहरूको टुंगो नलाग्दै कांग्रेस केन्द्रीय सदस्य नारायणप्रकाश (एनपी) साउद परराष्ट्रमन्त्री बन्ने भएका छन्। सभापति शेरबहादुर देउवाले आफूनिकट आफू निकट साउदलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी तोकेका हुन्।

मन्त्रिपरिषद् छिट्टै विस्तार हुने चर्चा भइरहेका बेला साउद एक्लै आज (आइतबार) दिउँसो शपथ लिँदै छन्। आठौँपटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवासँग छलफलपछि साउदलाई यस्तो जिम्मेवारी दिने भएका हुन्। वर्तमान सत्ता गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसले ८ वटा मन्त्रालय लिने सहमति भएको छ।

यसअघि उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस संस्थापन पक्षका ४ जना मन्त्री भएका थिए। गत १७ फागुनमा खड्का उपप्रधान एवं रक्षा, डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति सीता गुरुङ सहरीविकास मन्त्री नियुक्त भएका थिए। देउवाले आफूखुसी मन्त्रीहरूको नाम सिफारिस गरेको भन्दै कांग्रेस संस्थापनइतर समूहका डा. शेखर कोइराला, महामन्त्री गगन थापालगायतले सो दिन आफू निकटका सांसदलाई मन्त्री बन्न रोकेको थियो। संस्थापनइतरले कम्तिमा ३ वटा मन्त्रालय दाबी गर्दै आएको छ।

आफ्नो भारत भ्रमणको तयारी भइरहँदा तालुकदार मन्त्रालयनै रिक्त भएपछि प्रधानमन्त्री प्रचण्डले साउदलाई परराष्ट्रको जिम्मेवारी तोक्न भएका हुन् । प्रचण्डको भ्रमण तयारीमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव जुटेका छन् । भ्रमणलाई लक्षित गर्दै गत साता उनले प्रधानमन्त्री प्रचण्ड र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका थिए।

चैत चौथो साता भ्रमण तयारीका लागि भारत गएर फर्किए लगत्तै श्रीवास्तवले प्रचण्डसँग भेट गरेका थिए। त्यसअघि भारतले राष्ट्रपति निर्वाचन अगावै (गत फागुन दोस्रो साता) भारत भ्रमणका लागि प्रस्ताव गरे पनि प्रचण्डले राष्ट्रपति निर्वाचनपछि मात्रै भ्रमण गर्ने बताएका थिए। भारतबाट फर्किएका राजदूत श्रीवास्तवले वैशाखभित्रै भ्रमण गर्ने निम्तो दिएपछि उच्चस्तरीय भ्रमणसँग प्रत्यक्ष जोडिने परराष्ट्र मन्त्रालयमा साउदलाई नियुक्त गर्ने भएका हुन्।

प्रतिक्रिया दिनुहोस्