ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड, देउवा र सभामुख घिमिरे



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवा एउटै गाडीमा ओली निवास बालकोट पुगेका छन्। एमाले अध्यक्ष ओली केही दिनदेखि भाइरल ज्वरोका कारण बिरामी परेका छन्।

उनलाई भेटेर स्वास्थ्य लाभको कामना गर्न र संसदमा रहेका विधेयकबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा बालकोट पुगेका हुन्। साथमा सभामुख देवराज घिमिरे पनि बालकोट पुगेका छन्।

विगत केही दिनदेखि संवैधानिक परिषद्सम्बन्धी विधेयक र सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भइरहेको छ। सोही विधेयकलाई अगाडि बढाउन विषयमा आज पनि शीर्ष नेताहरूबीच छलफल जारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

दलका शीर्ष नेताहरुबीचको सहमतिअनुसार आइतबार बिहान पनि बालकोटमा बैठक बोलाइएको थियो। तर प्रचण्डले अन्तिम समयमा आफू व्यस्त रहेको भन्दै बालकोट जान अस्वीकार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्