बालकोट बैठक : संवैधानिक परिषद् बैठक बसेर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति



काठमाडौं । प्रमुख तीन दलबीच सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीका बिचमा भएको छलफलमा यस्तो सहमति भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए।

‘प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक डाक्ने र प्रधानन्यायाधीशको नियुक्तिको प्रक्रिया अघि बढाउने कुरामा सहमति भएको छ’, उनले भने, ‘अब प्रधानमन्त्रीले समय तोकेपछि बैठक बस्नेछ।’ अरु कुरामा छलफल गर्ने र अहिले संवैधानिक परिषद्को बैठक बस्ने मुख्य सहमति भएको उनले बताए।

सर्वोच्च अदालत १६ महिनादेखि कामुको भरमा चल्दै आएको छ। २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोाग दर्ता भएपछि सर्वोच्च कामुको भरमा चल्दै आएको छ।

तत्कालीन समयमा राणा निलम्बित भएपछि दीपककुमार कार्कीले कामु चलाएका थिए। उनले अवकाश पाएपछि हरिकृष्ण कार्की कामुको रुपमा रहेका छन्। एमाले सचेतक महेश बर्तौलाले १५ महिनादेखि न्यायपालिका नेतृत्वविहीन भएकाले अविलम्ब अघि बढाउनुपर्ने कुरा एमालेले उठाएको बताए। उनले सरकार यो पाटोमा गम्भीर हुनुपर्छ भनेपछि संवैधानिक परिषद् बैठक बोलाउने सहमति भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्